काठमाण्डाै – रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढी आएको आज तीन महिना पूरा भएको छ । गएको भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी आउँदा जनधनको अकल्पनीय क्षति भएको थियो ।
सरकारले उद्धारको काम प्रभावकारी रूपमा गरेको र चाँडै पुनर्स्थापनाको काम गर्ने बता पनि बाढीबाट विस्थापित बनेका हजारौँ नागरिकहरू अहिले पनि पुनर्स्थापनाको प्रतीक्षामा कष्टकर जीवन बिताउन बाध्य छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा बेपत्ता भएका ५ हजार २८५ मध्ये अहिलेसम्म ३ हजार ९१५ जनाको मात्र विवरण यकिन भएको छ । यसमा १९ देशका ६२३ जना विदेशी नागरिकसमेत रहेका छन् । अझै १ हजार ३७० जनाको विवरण आउन बाँकी छ ।
बेपत्ताको सङ्ख्या पूर्णरूपमा यकिन नहुँदा पीडित परिवारले कानूनी रूपमा मृत्युदर्ता, राहत र क्षतिपूर्ति पाउन सकेका छैनन् । सरकारले १ हजार १४८ वटा शवलाई पहिचान खुल्ने गरी डीएनए नमूना सङ्कलन गरेर जमिनमुनि व्यवस्थापन गरेकोमा अझै पनि डीएनए मिलानका आधारमा पहिचान गरेको छैन ।
सरकारले समयमै पुनर्स्थापनाको निर्णय नगरेपछि त्रिशूली बजारका विस्थापितहरूले नेपाल विद्युत् प्राधिकरणको जग्गामा अस्थायी टहरा बनाएका छन । तर त्यसलगत्तै प्राधिकरणले त्यहाँको विद्युत् लाइन काटिदिएपछि उनीहरू अन्धकारमा बस्न बाध्य छन् । झोलुङ्गे पुल र बेलिब्रिज जडान नहुँदा स्थानीयवासीलाई आवतजावतमा समेत सास्ती छ ।
त्यस्तै लगातारको अनिश्चितता र घरबारविहीन हुनुको पीडाले बाढी प्रभावित क्षेत्रका बासिन्दामा मानसिक स्वास्थ्य समस्यासमेत गहिरिँदै गएको छ । त्रिशूली अस्पतालमा मात्रै चिन्ता र निराशासम्बन्धी समस्या लिएर आउने बिरामीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ ।
सरकारले तत्काल स्पष्ट राहत, अस्थायी आवास र मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने पीडितहरूको माग छ ।




