रसुवा–भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३ हजार ९१५ जना नेपाली नागरिकलाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको छ ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार ९१५ जना स्वदेशी नागरिकलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा सातवटा विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी नागरिकको विवरणसमेत प्रस्तुत गरिएको छ ।

विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ ।

यसअघि स्वदेशी नागरिकका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण सङ्कलन गरिएको थियो ।

विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूचीका आधारमा दाबी पेस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई चरणमा सातदिने सूचना प्रकाशन गरेको थियो ।

बैठकले ‘सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र, २०८३–२०८७’ पनि स्वीकृत गरेको छ । उक्त मार्गचित्रले २०८७ सालसम्म नेपालका सबै समुदायमा प्रकोपसम्बन्धी पूर्वसूचना पुर्‍याउने लक्ष्य राखेको छ । यसका लागि बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालन गरिने जनाइएको छ ।

त्यसैगरी, बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ तथा कार्ययोजना २०८३/८४ देखि २०९१/९२ सम्मका लागि स्वीकृत गरेको छ ।

वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना, २०८३–२०८७ लाई समेत बैठकले स्वीकृति दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्