काठमाडौं, १ असार । नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चा घोषणालाई छिटै अगाडि बढाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको समाजवादी बैठकले आवश्यक तयारी पुरा गर्दै समाजवादी मोर्चा घोषणालाई छिटै अगाडि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । मोर्चामा रहने दलहरुको आन्तरिक तयारी नपुगेका कारण शुक्रबार घोषणा हुने भनिएको समाजवादी मोर्चा केही दिनभित्रै घोषणा हुने उहाले बताउनुभयो ।
एक वर्षअघिदेखि नै मोर्चा गठनका लागि नै पहल गर्दै आइरहेको भन्दै उहाले मोर्चाको सैद्धान्तिक र व्यवहारिक पक्षका बारेमा बैठकमा चर्चा गरिएको बताउनुभयो । उहाले मोर्चाका संरचना जिल्ला र प्रदेशमा समेत बनाउन सकिने दलहरुबीच सैद्धान्तिक सहमति भएको , लेफ्ट फ्रन्ट बनाउन सहयोगी हुने धारणा राख्नुभयो ।
समाजवादी मोर्चा गठनका लागि माओवादी, नेकपा एस, जसपाले पहिल्यै निर्णय गरेपनि विप्लवको नेकपा पनि छलफलमा रहेको छ ।
यता नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चाबारे बाहिर चलेका हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाले प्रधानमन्त्रीसंगको भेटमा उपलब्धिहरूको रक्षा गर्दै समाजलाई अग्रगमनको दिशामा लैजानका लागि बृहत समाजवादी मोर्चा निर्माण गर्न गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी बनेको बताउनुभएको छ ।





