काठमाडौ, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने उद्देश्य राखेको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमजलाई सम्बोधन गर्दै उहाँले योग र ध्यानको महत्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर नै सरकारले यस्तो निर्णय लिएको बताउनु भयो ।उहाँले यो निर्णयले आध्यात्मिक चिन्तनको महत्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले नेपालका पुराना शहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको पाइने बताउनुभयो ।
उहाँले प्राकृतिक वातावरणको हिसावले पनि नेपाल संसारभरका मानिसका लागि योग अभ्यासका लागि एउटा सुन्दर भूमि रहेको बताउनुभयो । नेपाल योग सम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरका अध्येताहरुका लागि नेपाल मुल गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना रहेको प्रधानमन्त्रीकाे दाबी थियाे
प्रधानमन्त्री प्रचण्डले योगमाया आयुर्वेद विश्वविद्यालयले भविष्यमा विश्वस्तरीय विश्वविद्यालयका रुपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले योग शारीरिक अभ्यासमात्रै नभइ निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली र जीवनपद्धति भएको बताउनुभयो ।
उहाले योग सम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा पर्याप्त ध्यान दिने हो भने नेपालमा योग पर्यटनमा गुणात्मक विकास गर्न सकिनेसमेत बताउनुभयो ।





