मन्त्री कुलमान घिसिङले राजीनामा बुझाउँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने निर्णय गरेका छन्। उनले केही बेरमै प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

प्रधानमन्त्री कार्कीले पछिल्लो मन्त्रीपरिषद् बैठकमा राजनीतिक दलसँग औपचारिक रूपमा आबद्ध भएका मन्त्रीहरूलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन्। सोही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग औपचारिक रूपमा जोडिनु अघि नै घिसिङले राजीनामा दिने निर्णय लिएका हुन्।

स्रोतका अनुसार घिसिङ रास्वपाको उपसभापति बन्ने सहमति भइसकेको भए पनि त्यसको औपचारिक कार्यान्वयन हुन बाँकी छ। “उहाँले आफू अझै कुनै पार्टीको औपचारिक सदस्य नभएको बताउँदै आउनुभएको थियो, तर अनावश्यक दबाब सिर्जना भएपछि राजीनामा दिने निर्णयमा पुग्नुभयो,” स्रोतले जनाएको छ।

घिसिङ आगामी आमनिर्वाचनमा रास्वपाबाट काठमाडौं–३ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारीमा छन्। उनले निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि नै मन्त्री पदबाट राजीनामा दिने बताउँदै आएका थिए।

रास्वपा स्रोतका अनुसार पछिल्ला दुई दिनयता घिसिङ कुनै पनि राजनीतिक भेटघाटमा सहभागी भएका छैनन्। उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायसँगको भेटसमेत उनले टारेको बुझिएको छ।

घिसिङले आज राति ९ बजे पत्रकार सम्मेलन गरी आफ्नो राजीनामा र भावी राजनीतिक योजनाबारे औपचारिक जानकारी दिने तयारी गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्