चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट डेढ वर्षअघि पहिरोले बगाएर त्रिशुली नदीमा खसालेको गणपति डिलक्स बस नै हालै नदीमा भेटिएको पुष्टि भएको छ।
आइतबार बिहान बसको केही भाग देखिएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा खोज तथा उद्धार कार्य तीव्र बनाएका थिए। खोतल्ने क्रममा बसमा ‘गणपति डिलक्स’ लेखिएको भाग भेटिएपछि सोही बस भएको पुष्टि भएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्। हाल पनि बस पूर्ण रूपमा निकाल्ने कार्य जारी रहेको छ।
वि.सं. २०८१ असार २८ गते वीरगन्जबाट काठमाडौँ आउँदै गरेको एन्जल डिलक्स (बा.प्र. ०३–००६ ख १५१६) र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स (बा.प्र. ०३–०११ ख २४९५) त्रिशुली नदीमा खसेर बेपत्ता भएका थिए। दुवै बसमा गरी ६५ जना यात्रु सवार थिए।
दुर्घटनामा ३ जना यात्रु जीवित उद्धार भएका थिए भने बाँकी ६२ जना यात्रु नदीमा बेपत्ता भएका थिए। त्यसपछि गरिएको खोजी अभियानमा २६ जनाको शव फेला परे पनि अन्य यात्रु अझै बेपत्ता छन्।
यसअघि त्रिशुली नदीको वारिपट्टि व्यापक खोजी गरिए पनि बस भेटिएको थिएन। पछिल्लो खोजीमा भने नदीको पारिपट्टि गणपति डिलक्स बस फेला परेको हो। घटनाले फेरि एकपटक उक्त भीषण दुर्घटनाको पीडा र पीडित परिवारको प्रतीक्षालाई स्मरण गराएको छ।





