काठमाडौँ । पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले आइतबार १५५ जनालाई पक्राउ गरेको छ ।
महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न आशङ्कामा १५५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
पक्राउ पर्नेमा सिक्री लुटमा संलग्न, चोरी र लागुऔषध (गाँजा)को कारोबार गर्नेहरु छन् । केहीलाई उच्छृङ्खल गतिविधि गर्दागर्दै र केहीलाई उच्छृङ्खल गतिविधि गर्नसक्ने आशंकामा नियन्त्रणमा लिइएको एसपी भट्टराईले बताए । उनले भने, ‘पूर्व सूचनाको आधारमा केही शङ्कितहरूलाई अनुसन्धानको लागी नियन्त्रणमा लिएका छौँ ।’
पक्राउ परेकाहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । स्क्रिनिङ गरेर उनीहरूलाई मुद्दा चलाइने एसपी भट्टराईले बताए ।





