सर्लाहीमा तीन मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

रेडियो काठमाण्डु
  • ख-
  • ख+

सर्लाही । सर्लाहीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

ईश्वरपुर नगरपालिका–१३ स्थित बाके–संग्रामपुर सडकखण्ड अन्तर्गत ठिल्ला नजिक बुधबार साँझ बिआर ३० एआर ३४५८, बिआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरका मोटरसाइकलहरू एकआपसमा ठोक्किएका थिए। दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा घाइते चार जनालाई एम्बुलेन्समार्फत लालबन्दीस्थित मोडेल अस्पताल पठाइएको थियो। तीमध्ये दुई जनाको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा रिफर गरिएको थियो।

गम्भीर घाइतेमध्ये हरिपुर्वा नगरपालिका–९ निवासी अन्दाजी ३० वर्षीय मुकेश राय र ३५ वर्षीय रामज्ञान रायलाई चिकित्सकले मृत घोषणा गरेका छन्।

दुर्घटनामा सोही स्थानका २२ वर्षीय विक्रम राय र ४२ वर्षीय राम विश्वास राय सामान्य घाइते भएका छन्। उनीहरूको उपचारपछि इलाका प्रहरी कार्यालय केशरगञ्जको निगरानीमा राखिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल प्रहरी चौकी गौरीशंकरको नियन्त्रणमा रहेका छन्। चालकको पहिचान तथा दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्