काठमाण्डौं, १० चैत्र । खानेपानी सरसफाई र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरुले नेपालको पानी नीति, आपूर्ति पद्धति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव दिएका छन् ।
विश्व पानी दिवस २०२६ का अवसरमा स्मार्ट वास सोलुसन्सको आयोजनामा पानी र लैंगिक समानता विषयमा सोमवार ललितपुरमा भएको कार्यशालाका वक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा प्रमुख वक्ता रहनुभएकी अन्तर्राष्ट्रिय जल व्यवस्थापन प्रतिष्ठानकी निर्देशक डा। मनोरमा खड्काले नेपालको पानीसम्बन्धी नीति, कार्यक्रम, अभ्यास, परम्परा महिलामैत्री बनाउन नसकिएकोले महिलाहरुको आर्थिक,सामाजिक,शैक्षिक र समग्र विकास प्रभावित भएको बताउनुभयो । उहाँले अझै पनि नेपालका ग्रामीण क्षेत्रमा पानीको आपूर्ति सहज नभएको र खानेपानीदेखि घरेलु काममा उपयोगमा गरिने पानी संकलनको जिम्मेवारी महिलाले लिने प्रचलन देखिएकोले छोरीहरुको पढाई र अन्य सामाजिक सहभागिताको विषय प्रभावित भएको बताउनुभयो ।
उहाँले पानी संकलनका क्रममा महिलाहरुले हिंसा पनि सहनुपरेको उल्लेख गर्दै भन्नुभयो, “दलित महिलाहरुको स्थिति त भयावह छ । तराईमा होस् कि पहाडमा जातीय विभेद र छुवाछुतको विभेद भनिसाध्य छैन् ।”
कार्यक्रमकी अर्की वक्ता खानेपानी मन्त्रालयकी सहसचिव ई।मीना श्रेष्ठले घरको काम पुरुष र महिलाले बराबरी गर्ने अभ्यास नहुनु नै महिलाहरुको विकासको वाधक भएको बताउनुभयो । उहाँले केही प्रदेशका केही पालिकाहरुमा विदेशी दातृ निकाय र संंस्थाहरुको सहयोगमा ‘एक घर एक धारा’ अभियान चलेकोले यो पूरा भएमा पानीका कारण रोकिएको महिलाहरुको आर्थिक सामाजिक विकासको गति अगाडि बढ्न मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा जल तथा ऊर्जा आयोगका सिनियर डिभिजनल इञ्जिनियर डा।कपिल ज्ञवालीले पानीको बहुपक्षीय उपयोगको महत्वलाई आत्मसात गरेर आयोगले विश्व पानी दिवस, हिमनदी दिवस र जल तथा मौसम दिवसलाई समेट्ने गरी ‘वास विक’ नै मनाउन थालेको बताउनुभयो । उहाँले पानीको महत्व,पानीको बहुउपयोग र सदुपयोग, पानी र आर्थिक सामाजिक विकास तथा न्यायका विविध पक्षमा छलफल गर्न हरेक वर्ष राष्ट्रिय पानी सम्मेलन गर्न थालिएको र पानीका क्षेत्रमा काम गर्ने संघीय, प्रादेशिक र स्थानीय संस्था, विज्ञ, अभ्यासकर्ता, अनुसन्धानकर्ताका साथै प्राविधिकहरुबीचमा छलफल गर्न यस्तो सम्मेलन उपयोगी भएको पनि बताउनुभयो । उहाँले जहाँ पानी बग्छ, त्यहाँ समानता मौलाउछ भन्दै पानी उपयोगमा कानूनहरुले महिलाहरुलाई विभेद नगरे पनि व्यबहारमा विभेद भएकोले यसलाई अभ्यासद्धारा सुधार्न पर्ने खाँचो औल्याउनुभयो ।
कार्यक्रमका अर्का वक्ता पूर्वमन्त्री गणेश साहले पानी संसारभर सबै वर्ग,पेशा,समुदाय र उमेर समूहका नागरिकका लागि सुख र समृद्धिको माध्यम र परिचायक भएको बताउनुभयो । “जसकहाँ पानी बढी छ , त्यो धनी छ । पानी नहुने गरिब छ । पानीले धनी बनाउन सक्छ”, उहाँले भन्नुभयो । पूर्वमन्त्री साहले पानीका सम्बन्धमा सहज उपलब्धता, पहुँचयोग्यता र किफायतीपन महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमको दोस्रो शत्रमा सामूहिक बहस९प्यानेल डिस्कसन० राखिएको थियो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा।सुनिलबाबु श्रेष्ठद्धारा सञ्चालित सो बहसमा विज्ञ,नीति निर्माता, स्थानीय निकायका प्रतिनिधि र खानेपानीका क्षेत्रमा काम गरिरहेका अभ्यासकर्ताहरुले आआफ्नो क्षेत्रमा भएका असल अभ्यासका बारेमा बताउनुभएको थियो ।
सामूहिक वहसमा मन्त्रालयकी सहसचिव ई मीना श्रेष्ठले खानेपानीको क्षेत्रमा महिला सहभागिता बढाउन खानेपानी उपभोक्ता समितिमा महिला प्रतिनिधित्व बढाउने गरी नीति,नियमहरुमा परिवर्तन गरिरहेको बताउनुभयो । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालकी वरिष्ठ उपाध्यक्ष दुर्गा चापागाईँले स्थानीय उपभोक्ताहरुको प्रयासमा थालिएको मानबड खानेपानी आयोजनाको सफलताको कथा सुनाउदै महिलाहरुलाई नेतृत्वमा ल्याउन धेरै कठिनाई झेल्न परेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यपक डा। इन्दिरा पराजुलीले महिलाहरु सक्षम हुँदाहुँदै पनि हाम्रा परम्परागत मान्यता र अभ्यासले पछि परेको उल्लेख गर्नुभयो । त्यस्तै धुलिखेल नगरपालिकाका पूर्वप्रमुख अशोक व्यञ्जूले आँट गरेमा नागरिकका घरघरमा खानेपानी पुर्याउन सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफू नगरको प्रमुख हुँदा ३१ प्रतिशतबाट ९७ प्रतिशत घरमा धारा पुर्याउन सक्षम भएको खानेपानीका बारेमा नागरिकहरुमा चेतना फैलाउने कार्यक्रम ल्याएको,खानेपानीको स्रोतहरुको पहिचान गरी तथ्यांक आधार सिर्जना गरेको र तिनको संरक्षणमा स्थानीय उपभोक्ताहरुलाई परिचालन गरिएको सफलताका कथा सुनाउनुभएको थियो । अर्की वक्ता शारदा खनालले जलवायु परिवर्तनले खानेपानीको उपलब्धतामा पर्ने असर र त्यसले महिलालाई पर्ने असरमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा एसएनभी नेपालकी खानेपानी क्षेत्रकी नेतृ नादिरा ख्वाजाले नेपालको वास क्षेत्रको तथ्यांक आधार तयार पार्ने क्रममा भएका प्रगतिका बारेमा प्रस्तुति दिनुभएको थियो । नेपाल खुला दिशामुक्त राष्ट्र घोषणा गरिएपछि त्यसलाई निरन्तरता दिने कार्यक्रमको अभावमा कतिपय स्थानहरुमा खुला दिशा गर्ने प्रवृत्ति बढ्दै गएको क्षेत्रगत अवलोकनमा भेटिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई। रामदीप साहले स्वागत मन्तव्य दिनुभएको थियो भने समापन मन्तव्य वाटर एड, नेपालका कविन्द पुडासैनीले दिनुभएको थियो । कार्यक्रममा खानेपानी क्षेत्रमा काम गर्ने तीनै तहका सरकारी अधिकारीहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु, विश्वविद्यालयका प्राध्यापकहरु, अनुसन्धानकर्ता र विज्ञहरु, खानेपानी उपभोक्ता, खानेपानीका क्षेत्रमा नविन प्रविधि विकास गर्ने उद्यमीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, खानेपानी,सरसफाई र स्वच्छता र वातावरण विषय अध्ययन गर्ने विश्वविद्यालयका विद्यार्थीहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
संयुक्त राष्ट्र संघले सन १९९३ देखि विश्व पानी दिवस मनाउन थालेको हो । यस बर्षको पानी दिवस पानी र महिला विषयमा केन्द्रित छ । यस बर्षको नारा जहाँ “पानी प्रवाहित हुन्छ, त्यहाँ समानता बढ्छ” भन्ने रहेको छ ।





