१९ चैत, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।
कमलादीस्थित प्रज्ञा भवनमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि निकोलस पाण्डे र आङ दोर्जी लामाबीच प्रतिस्पर्धा हुँदैछ ।
निर्माण क्षेत्रमा लामो अनुभव र व्यवस्थापन क्षमता बोकेका पाण्डे पछिल्लो समय व्यवसायीमाझ ‘परिवर्तनकारी नेतृत्व’ का रूपमा उभिएका छन् । कालिका कन्सट्रक्सनमार्फत ठूला परियोजनामा संलग्न रहँदै आएका उनले निर्माण व्यवसायीहरूको हकहित, भुक्तानी समस्या समाधान र नीतिगत सुधारलाई मुख्य एजेण्डा बनाएका छन् ।
उनको प्यानल पनि तुलनात्मक रूपमा सशक्त देखिएको छ । वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमजस्ता अनुभवी व्यवसायीहरूको साथले पाण्डेको टिमलाई मजबुत बनाएको छ ।
महासंघभित्र व्यवसायीहरूले भोगिरहेका ढिलाइ, भुक्तानी अड्किने समस्या र नीतिगत अन्योल अन्त्य गर्न पाण्डेले स्पष्ट कार्ययोजना अघि सारेका छन् । निर्माण क्षेत्रमा देखिएको निराशा चिर्न सक्ने नेतृत्वका रूपमा उनलाई हेरिएको छ ।
उता प्रतिस्पर्धी आङ दोर्जी लामा पनि आफ्नै प्यानलसहित मैदानमा छन् । तथापि, पछिल्लो समय व्यवसायीहरूको झुकाव पाण्डेतर्फ बढ्दो देखिएको बताइन्छ ।
यस अधिवेशनबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।







