काँग्रेसद्वारा १५ औँ महाधिवेशनका लागि विभिन्न समिति गठन, गगनलाई असन्तुष्ट पक्षसँग संवादको जिम्मेवारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

२ वैशाख, काठमाडौं ।  नेपाली काँग्रेसले आगामी १५ औँ महाधिवेशनलाई समयमै सम्पन्न गर्न र पार्टीको आन्तरिक संगठनलाई चुस्त बनाउन विभिन्न महत्वपूर्ण समितिहरू गठन गरेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेकाअनुसार बुधवार बसेको केन्द्रिय समिति बैठकले महाधिवेशनको तयारी, निर्वाचन ब्युरो र राजनीतिक संवादका लागि नेताहरूलाई जिम्मेवारी तोकेको हो ।

पार्टीको १५ औँ महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्न र पार्टीभित्र देखिएका असन्तुष्टिहरू सम्बोधन गर्न पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग संवाद गर्न सभापति गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ ।

पार्टीका पुराना नेताहरू, पूर्व पदाधिकारीहरू सँग संवाद गरी महाधिवेशनका लागि उपयुक्त वातावरण निर्माण गर्ने प्रवक्ता चालिसेले बताए । बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठान उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा गठन गर्ने निर्णय गरेको छ । यसले कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने र नेतृत्व विकासका तालिमहरू सञ्चालन गर्नेछ ।

उपसभापति पुष्पा भुसालको संयोजकत्वमा स्थायी प्रकृतिको ‘निर्वाचन ब्युरो’ गठन गरिएको छ । यसले निर्वाचनको रणनीति बनाउने, सूचना संकलन गर्ने र सम्भावित उम्मेदवारहरूको पहिचान गर्ने कार्य गर्नेछ ।

महामन्त्री गुरुराज घिमिरेको संयोजकत्वमा सह–महामन्त्रीहरू बद्री सिंह लामा र मुक्ता यादव सदस्य रहेको संगठन सञ्चालन र समन्वय संयन्त्र बनाइएको छ ।

१५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता व्यवस्थापन गर्न महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सह–महामन्त्रीहरू योगेन्द्र चौधरी र प्रकाश स्नेही सदस्य रहेको सदस्यता व्यवस्थापन समिति गठन गरिएको प्रवक्ता चालिसेले बताए ।

त्यसतै संसदभित्र र बाहिर रहेका दलहरूसँग राष्ट्रिय मुद्दामा सहकार्य र संवाद गर्न वरिष्ठ नेता अर्जुननरसिंह केसीको नेतृत्वमा वार्ता संवाद समिति बनाइएको छ ।

गत भाद्र २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनबारे अध्ययन गर्न काँग्रेसले वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा बनाएको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

उक्त प्रतिवेदनको क्षेत्राधिकार, निष्पक्षता र नजिरहरूबारे भोलिको बैठकमा थप छलफल गरी पार्टीले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने चालिसेले जानकारी दिए । पार्टीको अनुशासन समितिले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको सन्दर्भमा बोल्दै प्रवक्ता चालिसेले विधानभन्दा माथि कोही नभएको बताए ।

अनाधिकृत रूपमा पार्टीको लेटरप्याड प्रयोग भएको विषयमा अनुशासन समितिले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको र यसको मर्यादा राख्नु सबै नेता–कार्यकर्ताको कर्तव्य भएको उनको भनाइ थियो ।

सरकारले ल्याएको राष्ट्रिय प्रतिवद्धताको साझा अवधारणा र संविधान सुधारका विषयमा काँग्रेसले अध्ययन गरिरहेको उनले बताए । बहुदलीय व्यवस्था, संसदीय प्रणाली र कार्यान्वयनको पक्षमा यसले पार्ने प्रभावबारे थप विश्लेषण आवश्यक रहेको भन्दै चालिसेले यसबारे भोलिको बैठकले निर्णय लिने बताए । काँग्रेस केन्द्रिय समितिको अर्को बैठक बिहीवार दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी