अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य निरन्तर बढ्दो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१५ वैशाख, काठमाडौं । अमेरिका र इरानबीचको द्वन्द्व साम्य हुने संकेत नदेखिँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढिरहेको छ। 

पछिल्लो सात दिनदेखि जारी यो वृद्धि अन्तर्गत ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १ सय ९ डलर नजिक पुगेको छ।  यस्तै अमेरिकी डब्ल्यू टीआईको मूल्य पनि ९७ डलर नजिक पुगेको छ । यसैबीच, हर्मुज जलमार्ग बन्द हुँदा विश्वभर ढुवानी संकट चुलिएको छ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा महासचिव एन्टोनियो गुटेरेसले विश्वको २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने यो मार्ग अवरुद्ध हुँदा गरिब राष्ट्रहरू प्रत्यक्ष मारमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

यद्यपि, रुस र चीनको अवरोधका कारण सुरक्षा परिषद्ले यो मार्ग खुलाउने विषयमा कुनै ठोस निर्णय लिन सकेको छैन। उता, अमेरिकी सेनाले इरानी बन्दरगाहतिर जाँदै गरेको तेल ट्याङ्कर एमटी स्ट्रिमलाई नियन्त्रणमा लिएको छ। 

इरानले यसलाई समुद्री डकैतीको संज्ञा दिएको छ। अर्कोतर्फ, युद्ध अन्त्यका लागि इरानले पठाएको नयाँ प्रस्तावमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सुरक्षा टोलीसँग छलफल गरिरहेको ह्वाइट हाउसले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्