१५,बैशाख काठमाडौं । ७ मध्ये ६ वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर बाराका मालपोत कार्यालयका तत्कालीन नासु मदन कुमार गुप्ताको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
२०७६ साल जेठमा भ्रष्टाचार मुद्दा लाग्ने बेलामा गुप्ता सरकारी सेवामा लागेको २९ वर्ष पुगिसकेको थियो । तीन दशकमा गुप्ताले २८ लाख रुपैयाँ बुझ्दा १९ करोड रुपैयाँ सम्पत्ति आर्जन गरेको भेटेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात वटा भ्रषटचार मुद्दा दर्ता गरेको थियो ।
सात वटा भ्रष्टाचार मुद्दामा गुप्ता ६ वटा भ्रष्टाचारमा दोषी ठहर भए भने एउटा भ्रष्टाचार मुद्दामा सफाई पाए । अख्तियारले लगाएको सात वटा अभियोगपत्र अनुसार गुप्ताले मालपोतमा रहँदा सरकारी राजस्व हिनामिना गरेको भेटिन्छ । मालपोत र बैकको नक्कली रसिद प्याड बनाएर उनले राजस्व हिनामिना गरेको भेटेपछि अख्तियारले मुद्दा दर्ता गरेको थियो ।
विभिन्न मालपोत कार्यालयमा बसेर भ्रष्टाचार गरेको आरोपमा उनीमाथि पाँच वटा राजस्व हिनामिनाको, एउटा सरकारी कागजात नष्ट गरेको अभियोग लाग्यो । पदमा बसेर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनी विरुद्ध पाँचौंं मुद्दा चल्यो ।
सबै मुद्दा चलेपछि उनले राजस्व चुहावट गरेको थप दुई घटना भेटिए । उनी विरुद्धको छैटौं र सातौं मुद्दा राजस्व चुहावट सम्बन्धी हो । एउटा मुद्दामा सफाइ पाएका उनी अरू सबै अभियोगमा दोषी ठहर भएका थिए ।
विशेष अदालतका तत्कालीन अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले गुप्तालाई भ्रष्टाचार मुद्दामा ५ वर्ष कैद सजाय सुनाएपछि हाल उनी कारागारमा छन् ।
अदालत राजस्व हिनामिनाको मुद्दामा मदन कुमार गुप्तासहित अर्का आरोपित नगेन्द्र प्रसाद चौधरीलाई ४ वर्ष कैद सजाय सुनाइएको थियो । मालपोत कार्यालयको राजस्व रकम हिनामिना गरेको आरोपमा दुवै जनाबाट ४७ लाख ५४ हजार रुपैयाँ भराउने र त्यसको दोब्बर अर्थात ९५ लाख ८ हजार रुपैयाँ जरिवाना तिराउने आदेश दिएको थियो ।
२०७६ जेठ १ मा अख्तियारले नासु मदन गुप्ता विरुद्ध पहिलो भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मालपोत कार्यालयमा बसेर २ करोड ५० लाख राजस्व हिनामिना गरेको आरोप लागेका गुप्तालाई विशेष अदालतले दोषी ठहर गरेको थियो ।
२०६९ सालमा भएको घटनामा विशेष अदालतले ६९ लाख बिगो र १ करोड ३८ लाख रुपैयाँ जरिवाना तिराउने आदेश गरेको विशेष अदालतले उनलाई ६ वर्ष कैद सजाय तोकेको थियो ।
२०७६ जेठ १ गते नै गुप्ता विरुद्ध विशेष अदालतमा दोस्रो मुद्दा चलेको थियो । सरकारी कागजात मासेको र नष्ट गरेको आरोप उनीमाथि लागेको थियो । सरकारी कागजात मास्नेमा उनीसहितको समूह भेटिएपछि अख्तियारले मुद्दा दर्ता गरेको थियो । विशेष अदालतले सो मुद्दामा थप ९ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
गुप्तामाथि २०७६ जेठ ३ गते तेस्रो भ्रष्टाचार मुद्दा दायर भएको थियो । बाराको सिमरास्थित मालपोत कार्यालयमा नासु रहदाँ ४ करोड ५८ लाख रुपैयाँ हिनामिना गरेको आरोप सहित मुद्दा दायर भएको थियो । तेस्रो मुद्दामा उनले सफाइ पाए ।
२०७६ मंसिर २ मा मा गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौथो मुद्दा दर्ता गरेको थियो । मालपोत कार्यालय, पर्सामा हुँदा रकम हिनामिना गरेको आरोपमा उनीमाथि ७७ लाख ८६ हजार रुपैयाँ राज्यकोषबाट नोक्सान गराएको आरोप लाग्यो । विशेष अदालतले सो मुद्दामा १ करोड ५५ हजार रुपैयाँ जरिवाना तोक्यो, ६ वर्ष कैद सजाय हुने ठहर भयो ।
२०७६ मंसिर ११ मा मदन गुप्ता विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा पाँचौं मुद्दा दर्ता भयो । एकपछि अर्को राजस्व चुहावटको घटनामा मुछिएको भेटिएपछि अख्तियारले उनी विरुद्ध १४ करोड ८१ लाख रुपैयाँ बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा चलाएको थियो ।
अख्तियारले दायर गरेको पाँचौ मुद्दामा २ करोड ८९ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको ठहर गर्दै एक वर्ष कैद र जरिवाना भराउने फैसला सुनाएको थियो ।
२०७९ असोज ७ मा गुप्तामाथि छैटौँ मुद्दा विशेष अदालतमा दर्ता भयो । गुप्तामाथि १२ लाख ३७ हजार हिनामिना गरेको आरोप लागेको थियो । विशेष अदालतले गुप्तालाई ६ लाख १८ हजार बिगो र त्यसको दोब्बर १२ लाख ३७ हजार जरिवाना तोक्यो । उनी सहित दुई जनालाई डेढ वर्ष कैद सजायको फैसला भयो ।
२०७९ चैत २९ मा गुप्तामाथि सातौ भ्रष्टाचार मुद्दा दर्ता भयो । ९५ लाख रुपैयाँ बिगो मागदाबी भएको मुद्दामा विशेष अदालतले उनीबाट ४७ लाख ५४ हजार रुपैयाँ बिगो र त्यसको दोब्बर अर्थात् ९५ लाख ८ हजार रुपैयाँ जरिवाना तिराउने आदेश साथै ५ वर्ष कैद सजाय हुने फैसला सुनाउने आदेश गरेको थियो ।





