हुन्डी कारोबार गर्नेको सूचना गोप्य रूपमा पठाउन नेपाली राजदूतावासको आग्रह

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१६ वैशाख, काठमाडौं । नेपाली राजदूतावास आबुधाबीले दुबई लगायतका क्षेत्रमा रहेर गैरकानुनी रूपमा हुन्डी (अनौपचारिक विप्रेषण) को कारोबार गर्ने व्यक्ति तथा संस्थाहरूको निगरानी बढाउँदै गएको छ ।

त्यसको कारोबारको विवरण सरकारलाई उपलब्ध गराउन सुरु गरेको हो ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण गर्ने राष्ट्रिय नीति अनुरूप दूतावासले यस्तो कदम चालेको हो ।

विदेशमा बसेर अनौपचारिक माध्यमबाट रकम सङ्कलन गर्ने र नेपाल नपठाई हुन्डीको कारोबार गर्नेहरूको गोप्य सूचना संकलन गरी परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायमा नियमित रूपमा पठाउने कार्य भइरहेको दूतावासले जनाएको छ ।

दूतावासले युएईमा कार्यरत सम्पूर्ण नेपाली समुदायलाई गैरकानुनी वित्तीय कारोबारमा संलग्न नहुन र त्यस्ता गतिविधिमा संलग्न भएका व्यक्ति वा संस्थाहरूको प्रमाणसहितको विवरण दूतावासलाई उपलब्ध गराउन अनुरोध गरेको छ । यसरी प्राप्त हुने सूचनाका आधारमा दूतावासले तथ्याङ्कहरू तयार पारी कारबाहीका लागि नेपाल सरकारका निकायहरूमा पठाउने व्यवस्था मिलाएको छ ।

गैरकानुनी हुन्डी कारोबारलाई निरुत्साहित गर्नका लागि दूतावासले विशेष ईमेल ठेगाना समेत सार्वजनिक गरेको छ । कसैले हुन्डी गरिरहेको जानकारी पाएमा वा प्रमाण भेटिएमा विवरण पठाएर सहयोग गर्न दूतावासले अपिल गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्