१६ वैशाख,काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजल ओख्रेनीस्थित जिङ्मा झाङतेर छ्योलिङ गुम्बाको उद्घाटन तथा मूर्तिहरूको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ।
बौद्ध धर्मगुरुहरूको उपस्थितिमा पूजा–पाठसहित आयोजना गरिएको उक्त कार्यक्रममार्फत गुम्बा औपचारिक रूपमा सञ्चालनमा आएको हो।
गुम्बा निर्माणका लागि विभिन्न चरणमा प्राप्त आर्थिक सहयोगले महत्वपूर्ण भूमिका खेलेको छ।
गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर सन्तोष चालिसेको कार्यकालमा वडा कार्यालयसँगको समन्वयमा ७० लाख रुपैयाँ सहयोग प्रदान गरिएको थियो। त्यसैगरी, बागमती प्रदेशका पूर्व मन्त्री तथा वर्तमान माननीय विमल ठकुरीको पहलमा ५० लाख रुपैयाँ उपलब्ध गराइएको थियो।
हाल गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालको कार्यकालमा थप ४० लाख रुपैयाँ सहयोग प्राप्त भएसँगै गुम्बा निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएको हो।
स्थानीय समुदाय तथा विभिन्न तहका जनप्रतिनिधिहरूको सहकार्यमा निर्माण सम्पन्न भएको उक्त गुम्बाले धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूलाई थप टेवा पुर्याउने अपेक्षा गरिएको छ।





