विद्यार्थीबाट शुल्क असुलीको गुनासो बढेपछि माडी गाउँपालिका रोल्पाको विज्ञप्ति,भर्ना शुल्क नलिन निर्देशन

यो शिक्षामा समान पहुँचका लागि माडी गाउँपालिकाको सराहनीय निर्णय हो ।

ओमसरा घर्तिमगर रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१७ वैशाख, काठमाडौं । रोल्पाको माडी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयहरूलाई भर्ना शुल्क नलिन निर्देशन दिएको छ।

गाउँपालिकाले हिजो वैशाख १६ गते सार्वजनिक गरेको सूचनामा भर्ना अवधिमा विभिन्न शीर्षकमा शुल्क असुलिएको गुनासो आएको भन्दै यस्तो निर्देशन जारी गरिएको हो।

गाउँपालिकाले नेपाल सरकारको हाल लागू शिक्षा सम्बन्धी नीतिअनुसार भर्ना शुल्क लगायत कुनै पनि प्रकारका गैरकानुनी शुल्क नलिन स्पष्ट निर्देशन दिएको छ।

सूचनामा विद्यालयहरूले नियम विपरीत शुल्क लिएको पाइएमा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश गौतम मार्फत जारी गरिएको पत्रमा अभिभावक र विद्यार्थीमाथि आर्थिक भार नपर्ने गरी शिक्षा प्रणाली सञ्चालन गर्न आग्रह गरिएको छ।

पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहितका नेतृत्वले निःशुल्क तथा पारदर्शी शिक्षा प्रणालीमा जोड दिइरहेका बेला माडी गाउँपालिकाको यो कदमलाई स्थानीयस्तरमा सकारात्मक रूपमा हेरिएको छ।
जारी गरिएको पत्रमा यस्तो लेखिएको छ ।

विषय: भर्ना शुल्क लिन नपाइने सम्बन्धमा ।

प्रस्तुत विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विभिन्न मितिमा जारी भएका परिपत्र, नेपालको संविधानमा आधारभूत तहसम्म अनिवार्य तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था भई अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ तथा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली, २०७७ मा भएको व्यवस्था अनुसार विद्यालयले विद्यार्थी भर्ना लगायत अन्य शीर्षकमा विद्यार्थी तथा अभिभावकबाट शुल्क लिन नपाइने हुँदा कतिपय विद्यालयले भर्ना अवधिको समयमा भर्ना लगायत विभिन्न शीर्षकमा शुल्क लिएको, एक विद्यार्थीमा एक पटक भर्ना भए पश्चात पनि पटक पटक भर्ना शुल्क लिएको व्याप्त गुनासो प्राप्त भएको हुँदा भर्ना शुल्क लिन नपाइने प्रावधानलाई सोही बमोजिम कार्यान्वयन गर्न गराउन हुन अनुरोध छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी