१९ वैशाख, काठमाडौं । रोल्पाको माडी गाउँपालिकामा विद्यालय भर्ना शुल्कको विषय फेरि विवादमा तानिएको छ।
गाउँपालिकाले गत वैशाख १६ गते नै विद्यालयहरूलाई भर्ना शुल्क नलिन लिखित निर्देशन जारी गरे पनि केही विद्यालयहरूले अभिभावकबाट विभिन्न शीर्षकमा रकम असुलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी गाउँपालिका कार्यसमितिले कडा प्रेस विज्ञप्ति जारी गरेको हो।
रास्वपाले शुक्रबार जारी गरेको विज्ञप्तिमा नेपाल सरकारले देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको अवस्थामा माडीका केही विद्यालयहरूले “स्वेच्छिक सहयोग”, “आर्थिक सहयोग” लगायतका नाममा रकम उठाएको जनगुनासो आएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा गाउँपालिकाले वैशाख १६ गते नै “भर्ना शुल्क नलिन” निर्देशन जारी गरिसकेको भए पनि केही विद्यालय प्रशासनले उक्त निर्णयलाई बेवास्ता गरेको भनाई रहेको छ ।
अभिभावकले शुल्क नतिरे विद्यार्थी भर्ना नगर्ने जस्ता व्यवहारसमेत भएको भन्दै रास्वपाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीले माडी गाउँपालिका सरकारलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको परिपत्रअनुसार कडाइका साथ कार्यान्वयन गर्न र आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित विद्यालयलाई स्पष्ट निर्देशन दिन माग गरेको छ।
त्यस्तै, शिक्षा क्षेत्रमा देखिएको समस्या दीर्घकालीन रूपमा समाधान गर्न गाउँपालिका, विद्यालय, अभिभावक तथा सरोकारवालासँग छलफल गरी ठोस निर्णय लिनसमेत रास्वपाले आग्रह गरेको छ।
यसअघि माडी गाउँपालिकाले जारी गरेको सूचनामा संविधान तथा अनिवार्य तथा निःशुल्क शिक्षा ऐनअनुसार विद्यार्थी भर्ना लगायतका शीर्षकमा कुनै शुल्क लिन नपाइने स्पष्ट उल्लेख गरेको थियो।
तर, गाउँपालिकाको निर्देशनपछि पनि केही विद्यालयमा रकम उठाइएको गुनासो आएपछि राजनीतिक तहबाट समेत दबाब बढ्न थालेको देखिएको छ।
गाउँपालिकाद्वारा गत वैशाख १६ गते जारी

राष्ट्रिय स्वतन्त्र पार्टी माडी गाउँपालिका कार्यसमितिले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति।






