२१,वैशाख काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छा र व्यवसायी दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदैछ । गोल्छाको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ । गोल्छालाई हाजिर जमानीमा छाड्ने वा थुनामै राखेर अनुसन्धान कारबाही गर्ने भनेर आजै टुङ्गो लाग्नेछ ।
यसअघि गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतमा राखेकोविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले विपक्षीहरूका नाममा उक्त आदेश जारी गरेको थियो ।
गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै अदालतले २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न विपक्षीहरूको नाममा आदेश दिएको थियो ।
यस्तै, व्यवसायी दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । पेसी सूचीको अन्तिममा रहेको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ ।
सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका भट्टलाई पनि प्रहरी हिरासतमा राखिएको छ । भट्टको रिटमा सर्वोच्चमा पहिलो सुनुवाइ हुँदै छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन, २०८३’ मा उनको नामसमेत मुछिएपछि सीआईबीले पक्राउ गरेको थियो ।
शंकास्पद कारोबारमार्फत ‘अकुत’ सम्पत्ति आर्जनको आरोपमा व्यवसायी भट्टलाई गत चैत १९ गते काठमाडौँको नक्सालबाट पक्राउ गरिएको थियो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट थुना म्यादको अनुमति लिएर भट्टलाई सीआईबीको प्रहरी हिरासतमा राखिएको छ





