२३ वैशाख, काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा गोकर्णेश्वरमा आयोजना हुन लागेको ‘तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ।
वैशाख २४ गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन हुने महोत्सव गोकर्णेश्वर–४ हनुमान चोकमा आयोजना हुँदैछ। आयोजक औद्योगिक शान्ति नेपालका अनुसार महोत्सवमा १२० वटा स्टल रहनेछन्, जहाँ दैनिक उपभोग्य सामग्रीदेखि प्रविधि, कृषि, लत्ताकपडा लगायतका सामग्री सुपथ मूल्यमा उपलब्ध गराइनेछ।
महोत्सवमा बालबालिकाका लागि विभिन्न मनोरञ्जन खेल, फुड फेस्टिभल, ‘गोकर्णेश्वर डान्स आइडल’ प्रतियोगिता तथा दैनिक राष्ट्रिय–स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। साथै जेठ ८–१० गते विशेष कन्सर्टसमेत आयोजना गरिनेछ।
स्थानीय उत्पादन र महिला उद्यमीलाई प्राथमिकता दिइएको महोत्सवले पर्यटन प्रवर्द्धनसँगै दुई लाखभन्दा बढी दर्शक आकर्षित गर्ने लक्ष्य राखिएको छ।





