२४ वैशाख, काभ्रेपलाञ्चोक । सुरक्षण मुद्रण केन्द्रमा दोस्रो चरणअन्तर्गत थप १७ लाख थान स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ सुरु भएको छ ।
यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच गत वैशाख ४ गते क्युआर कोडसहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएको थियो । सरकारले पहिलो चरणमा छापिन बाँकी रहेका ‘ब्याकलग’ लाइसेन्स छपाइ सम्पन्न गर्नुका साथै दैनिक मागलाई प्राथमिकतामा राख्दै दोस्रो चरणको सम्झौता गरेको हो ।
सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले असार मसान्तभित्र १७ लाख थान लाइसेन्स छपाइ गर्ने लक्ष्य राखिएको जानकारी दिए । ‘पहिलो चरणको सम्झौताअन्तर्गत वैशाख पहिलो सातामै दैनिक ३१ हजार २२७ थानका दरले छपाइ गरी १२ लाख थान लाइसेन्स विभागलाई हस्तान्तरण गरिसकिएको छ,’ उनले भने ।
दोस्रो चरणको सम्झौताअन्तर्गत हालसम्म ८२४ थान अत्यावश्यक र २१ हजार ४८६ थान नियमिततर्फ गरी कुल २२ हजार ३१० थान लाइसेन्स छपाइ गरेर विभागलाई हस्तान्तरण गरिसकिएको छ ।





