२६ वैशाख, काठमाडौं । भोजपुरको साल्पासिलिछो गाउँपालिकास्थित माबु बजारमा “साल्पासिलिछो सांस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव–२०८३” भव्य रूपमा सम्पन्न भएको छ।
साल्पासिलिछो गाउँपालिका तथा पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोगमा साल्पा संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास केन्द्रले वैशाख १८ गते महोत्सव आयोजना गरेको हो।
कार्यक्रम प्रमोद राईको अध्यक्षता तथा राष्ट्रिय गानका रचनाकार प्रदीप कुमार राई (व्याकुल माईला) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष दौलथ कुलुङ, उपाध्यक्ष अस्मिता कुलुङ, प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल सरकारले घुम्नैपर्ने १०० पर्यटकीय गन्तव्यभित्र समावेश गरेको मुन्दुम पदमार्ग तथा कोशी प्रदेश सरकारको पर्यटकीय गौरव आयोजनाअन्तर्गत पर्ने साल्पा पोखरी क्षेत्रको धार्मिक, सांस्कृतिक, साहित्यिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए।
उनका अनुसार मुन्दुम/रीदुम पदमार्गसँग जोडिएका विभिन्न जिल्ला तथा स्थानीय तहहरूको सामाजिक–आर्थिक विकास, स्थानीय रोजगारी सिर्जना र गरिबी न्यूनीकरणमा टेवा पुर्याउने लक्ष्यसहित महोत्सव सञ्चालन गरिएको हो।
महोत्सवमा भोजपुर, सोलुखुम्बु, खोटाङ, संखुवासभा, पोखरा, काठमाडौं लगायतका स्थानका साथै भारतको सिक्किमबाट समेत तीर्थालु भक्तजनहरूको सहभागिता रहेको थियो। महाकुलुङ गाउँपालिका, षडानन्द नगरपालिका तथा सिलिचोङ गाउँपालिकाबाट धामीझाँक्रीहरूको उल्लेखनीय उपस्थिति देखिएको आयोजकले जनाएको छ।
साहित्यिक सत्रमा मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकी, उपाध्यक्ष कृष्णप्रसाद चापागाई, सचिव भरत कुलुङ, सह–सचिव सनम थापा, सदस्य राजेन्द्र सरवहारा निरौला, तारानाथ पोखरेल तथा संखुवासभा साहित्यिक समाजका अध्यक्ष बीरेश राई लगायतले साल्पा र सिलिछोको विषयमा कविता वाचन गरेका थिए।
यस अवसरमा साल्पा पोखरी र सिलिछो क्षेत्रको प्रवर्द्धनमा साहित्य, गीत–संगीत तथा लेखनमार्फत योगदान पुर्याउने भरत कुलुङ, अजय अलङ्कार कुलुङ, हेमराज थुलुङ र युमन खालिङलाई सम्मान गरिएको थियो।
महोत्सवमा कुलुङ धामीझाँक्रीद्वारा “कुलु रीदुम” अर्थात् मुन्दुम प्रदर्शन, विभिन्न जातजातिका सांस्कृतिक झाँकी तथा किराती मौलिक गीत “सै राजा सैसै, सै रानी सैसै” प्रस्तुत गरिएको थियो।












