अध्यादेशबाट पदमुक्त भएका केयूका ७ डिनलाई मन्त्रीको निर्देशनमा पुनः जिम्मेवारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

५ जेठ, काठमाडौं ।   सरकारले ल्याएको नयाँ अध्यादेशमार्फत स्वतः पदमुक्त भएका काठमाडौं विश्वविद्यालय (केयू) का पदाधिकारीहरूलाई तत्कालका लागि पुनः निरन्तरता दिइएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको निर्देशनअनुसार विश्वविद्यालयका कामकारबाहीलाई प्रभावित हुन नदिन उनीहरूलाई नै जिम्मेवारीमा फर्काइएको हो।

अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका सबै पदाधिकारी एकमुष्ट पदमुक्त हुने गरी वर्तमान सरकारले अध्यादेश ल्याएको थियो। राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै केयूका पदाधिकारीहरू पनि स्वतः पदमुक्त भएका थिए।

तर, डिनहरू खाली हुँदा विश्वविद्यालयका प्राज्ञिक र प्रशासनिक कामहरू अस्तव्यस्त बनेपछि रिक्त रहेका ७ वटै फ्याकल्टीका डिनहरूलाई सोही पदमा पुनःस्थापना गरिएको केयू स्रोतले जनाएको छ।

केयूमा मानविकी, शिक्षा, कानुन, इन्जिनियरिङ, व्यवस्थापन, मेडिकल साइन्स र साइन्स गरी ७ वटा सङ्काय (फ्याकल्टी) रहेका छन्। ती सबै सङ्कायको नेतृत्व गर्ने डिनहरू नहुँदा दैनिक कार्यसम्पादन पूर्ण रूपमा प्रभावित बनेको थियो।

सरकारको अध्यादेशका कारण केयूका उपकुलपति डा. अच्युत वाग्ले पदमुक्त भएपछि हाल प्रा. डा. ऋषिकेश वाग्लेले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका छन्। कार्यवाहक उपकुलपति वाग्लेले सोमबार शिक्षामन्त्री पोखरेलसँग भेट गरी विश्वविद्यालयमा उत्पन्न प्रशासनिक संकटबारे छलफल गरेका थिए।

सो क्रममा नेतृत्व खाली हुँदा काम सञ्चालन गर्न कठिनाइ भएको अवगत गराएपछि मन्त्री पोखरेलले तत्कालका लागि पुरानै डिनहरूलाई निरन्तरता दिन निर्देशन दिएका हुन्।

केयू रजिस्ट्रारको कार्यालयले अर्को स्थायी नियुक्ति वा व्यवस्था नहुञ्जेलसम्मका लागि मात्र डिनहरूलाई यो जिम्मेवारी दिइएको प्रस्ट पारेको छ। यसै विषयमा थप निकास निकाल्न आज पनि शिक्षामन्त्री र विश्वविद्यालय नेतृत्वबिच छलफल हुने स्रोतले बताएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी