ग्लोबल आइएमई लघुवित्तद्वारा निराजन माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

५ जेठ, काठमाडौं ।  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय ढोरचौरले संस्थाको १४औँ वार्षिकोत्सवको अवसरमा सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–३ स्थित श्री निराजन माध्यमिक विद्यालय मा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

शाखा प्रमुख गणेश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा गिरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धर्मराज घर्ती, ग्लोबल आइएमई लघुवित्तको स्टेसन कार्यालय टरिगाउँ दाङका स्टेसन प्रमुख सतिस पौडेल तथा लक्ष्मी सनराइज बैंक ढोरचौर शाखाका शाखा प्रमुख दिपक अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष झुपलाल थापा, सदस्य अम्मर बहादुर थापा, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा ढोरचौर शाखाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन शाखाका कर्मचारी कमल वलीले गरेका थिए।

कार्यक्रममा कक्षा १ र कक्षा २ मा अध्ययनरत २६ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा झोला वितरण गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षा क्षेत्रमा निजी तथा वित्तीय संस्थाहरूको सामाजिक उत्तरदायित्व महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई थप प्रेरणा मिल्ने बताएका थिए।

ग्लोबल आइएमई लघुवित्तले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, वित्तीय पहुँच तथा समुदाय विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्