५ जेठ, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भजनीले संस्थाको १४औँ वार्षिकोत्सवको अवसरमा कैलाली जिल्लाको भजनी नगरपालिका–९, गन्जहुवास्थित शिव आधारभूत विद्यालय मा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
भव्य तथा सभ्य रूपमा सम्पन्न कार्यक्रममा भजनी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सन्जिव चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खेमबहादुर बोहरा, ग्लोबल आइएमई लघुवित्तको स्टेसन कार्यालय मसुरिया, कैलालीका स्टेसन प्रमुख अशोककुमार बोगटी लगायत शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी तथा भजनी शाखाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा करिब ७५ जनाको सहभागिता रहेको जनाइएको छ।
कार्यक्रम सञ्चालन शाखा प्रमुख निरज वि.सी. ले गरेका थिए। कार्यक्रममा बालकक्षादेखि कक्षा ५ सम्म अध्ययनरत ४६ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय झोला वितरण गरिएको थियो। सामग्री प्रमुख अतिथि, स्टेसन प्रमुख तथा विद्यालयका प्रधानाध्यापकको संयुक्त हातबाट वितरण गरिएको हो।
कार्यक्रममा सहभागी वक्ताहरूले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले विद्यार्थीहरूमा शिक्षाप्रति उत्साह बढाउनुका साथै विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड ले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, वित्तीय पहुँच तथा समुदाय विकासका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ।








