६ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा बागमती र गण्डकी प्रदेशको अर्थतन्त्र विस्तार राष्ट्रिय औसतभन्दा राम्रो हुने देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्यांक अनुमान अनुसार चालु आव बागमतीको आर्थिक वृद्धिदर सबैभन्दा धेरै ५.४० प्रतिशत बराबर हुनेछ । गण्डकीको ५.०१ प्रतिशत हाराहारी हुनेछ । चालु आव राष्ट्रिय कुल गार्हस्थ उत्पादन वार्षिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।
सोही आधारमा राष्ट्रिय औसतको तुलनामा बागमती र गण्डकीको आर्थिक वृद्धिदर राम्रो हुने देखिएको छ । अन्य प्रदेशमध्ये सबैभन्दा कमजोर आर्थिक वृद्धिदर मधेसको हुने कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिए ।
मधेसको १.३१ प्रतिशतमात्र आर्थिक वृद्धि हुनेछ । यसबाहेक कोशीको ३.१३, लुम्बिनी २.८७, कर्णाली २.९४ र सुदूरपश्चिम प्रदेशको ३.२८ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान कार्यालयको छ ।





