१० जेठ, काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा-१२) को नतिजा असार १० गतेसम्म प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डले यही लक्ष्यसाथ अहिले धमाधम उत्तरपुस्तिका परीक्षणको काम भइरहेको जनाएको छ।
परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्यालका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ। कर्मचारीहरू तीव्र रूपमा खटिएका छन्।
उनले भनिन्,‘आगामी असार १० नभए १५ गतेभित्र नतिजा प्रकाशित गर्ने लक्ष्यका साथ काम भइरहेको छ, प्राविधिक समस्या नआए यो समयभित्र कक्षा १२ को परीक्षा नतिजा प्रकाशित हुन्छ।’
सरकारले कक्षा १२ को नतिजा ४५ दिनभित्र प्रकाशित गर्न बोर्डलाई निर्देशन दिएको छ। माध्यमिक शिक्षा परीक्षा(एसइई) नतिजा सरकारले एक महिना अर्थात वैशाखभित्रै प्रकाशित गर्न दिएको निर्देशनअनुसार एसइई नतिजा प्रकाशित भइसकेको छ। वैशाख २८ गते एसइई प्रकाशित भएको थियो। प्रकाशित एसइईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
गत वर्ष एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। एसइई नतिजा प्रकाशित भएसँगै शिक्षा मन्त्रालयले आगामी असार १ गतेदेखि कक्षा ११ को पठनपाठन थाल्ने निर्णय गरिसकेको छ।
त्यहीअनुसार कक्षा १२ को नतिजा पनि छिटो नै प्रकाशित हुने देखिएको छ। यसअघि कक्षा १२ र एसइईको नतिजा प्रकाशित हुन करिब तीन महिना लाग्ने गरेको थियो। वैशाखमा कक्षा १२ को परीक्षा भई साउन महिनामा मात्रै १२ को नतिजा सार्वजनिक हुने गरेको थियो। तर यसपाली जेठमै नतिजा प्रकाशित हुने निश्चित देखिएको छ।
यसवर्षको कक्षा-१२ परीक्षा वैशाख १४ गतेदेखि २७ गतेसम्म भएको थियो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भयो।
गत वर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ९६ हजार ३४७ र आंशिक तर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी थिए। त्यसबेला कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरू भई जेठ २ गते सम्पन्न भएको थियो।





