काठमाडौं, १९ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने भएको छ ।
पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयाे ।
तर बोर्डले यो वर्षको एसईई नतिजा प्रकाशनमा यो व्यवस्था लागू नगरी अक्षरांकन (ग्रेडिङ) विधि लागू गर्नेछ । यो विधिमा ‘ई’ ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिन्छ ।
चालु शैक्षिक सत्रमा सबै कक्षामा नयाँ पाठ्यक्रम अनुसार पढाइ भएकाले अबदेखि भने नयाँ ग्रेडिङ प्रणाली लागू हुने बोर्डका अध्यक्ष शर्माले बताउनुभयाे।
गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी छ । परीक्षामा देशभरका करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए ।





