कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने, मुख्यमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

विराटनगर । कोशी प्रदेश सरकारले आगामी गणतन्त्र दिवस २०८३ लाई तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाउने निर्णय गरेको छ।

मुख्यमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस २०८३ मूल समारोह समिति गठन गर्दै प्रदेश सरकारले जेठ १४, १५ र १६ गते विविध कार्यक्रम सार्वजनिक गरेको हो।

मूल समारोह समितिको पहिलो बैठकले गणतन्त्र दिवस मनाउनका लागि मुख्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति र आन्तरिक मामिला तथा कानून मन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ।

सार्वजनिक तालिका अनुसार जेठ १४ गते प्रदेशका सबै मन्त्रालय र सरकारी कार्यालयहरूमा सरसफाइ गरिनेछ। सर्वसाधारणलाई पनि घरआँगन सफा राख्न अनुरोध गरिएको छ भने सञ्चार माध्यमबाट गणतन्त्रको महत्त्वबारे अन्तर्क्रिया सञ्चालन गरिने र साँझ दीपावली गरिनेछ।

जेठ १५ गते बिहान विराटनगरको सहिद रङ्गशाला अगाडिबाट प्रभातफेरी सुरु भई वीरेन्द्र सभागृह पुगेर विशेष समारोहमा परिणत हुनेछ। सो अवसरमा प्रदेश प्रमुखलाई सलामी अर्पण गरिने, सहिदहरूको सम्मानमा गरिने र मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

यसैगरी जेठ १६ गते स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयको नेतृत्वमा अस्पतालका बिरामी तथा वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई फलफूल वितरण गरिनेछ। सो दिन पनि साँझ दीपावली गरेर तीन दिने महोत्सवको समापन गरिनेछ।

गणतन्त्र दिवसको प्रभातफेरीमा विभिन्न जातजातिको भेषभूषा र पहिचान झल्कने झाँकीहरू प्रदर्शन गरिने र महानगरपालिका भन्दा बाहिरबाट आउने उत्कृष्ट झाँकी टोलीलाई नगद ३० हजार र महानगरपालिका भित्रका उत्कृष्ट झाँकीलाई २५ हजार रुपैयाँसहित कदर–पत्र प्रदान गरिने निर्णय पनि गरेको छ ।

बैठकले प्रदेशका सबै सरकारी कर्मचारीहरूलाई तोकिएको पोसाक र राष्ट्रिय झण्डा सहित अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। साथै, निजी क्षेत्र, प्याब्सन, एन–प्याब्सन, नेपाल पत्रकार महासंघ, खेलकुद विकास बोर्ड र नागरिक समाजलाई पनि सक्रिय सहभागिताका लागि अनुरोध गरिएको छ।

प्रदेश सरकारले विराटनगरमा मात्र नभई जिल्ला स्तरमा जिल्ला समन्वय समितिको संयोजकत्वमा र स्थानीय तहहरूमा प्रमुख–अध्यक्षको अध्यक्षतामा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन पत्राचार गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी