गोकर्णेश्वर नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा ६७ वटा हाते ट्र्याक्टर वितरण (तस्विरहरु)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१३ जेठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ले किसानलाई कृषि पेशातर्फ आकर्षित गर्दै आधुनिक कृषि प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित ५० प्रतिशत अनुदानमा ६७ वटा हाते ट्र्याक्टर वितरण गरेको छ।

आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत नगरपालिकाको कृषि विकास शाखाले वडा नं. ४ स्थित कृषि शाखा कार्यालयमा आयोजित विशेष कार्यक्रममा किसानहरुलाई हाते ट्र्याक्टर हस्तान्तरण गरेको हो।

कार्यक्रममा नगर प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय किसानहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रिसालले कृषिलाई व्यवसायिक, आधुनिक र उत्पादनमुखी बनाउन नगरपालिका निरन्तर सक्रिय रहेको बताए। उनले कृषकको उत्पादन लागत घटाउँदै उत्पादन वृद्धि गर्न यस्ता अनुदानमुखी कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।

त्यस्तै, उपप्रमुख लामाले किसानको मेहनत र कृषि उत्पादनले स्थानीय अर्थतन्त्र सुदृढ बन्ने उल्लेख गर्दै आगामी दिनमा पनि कृषकको हितमा विभिन्न सहयोग तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन्।

नगरपालिकाका अनुसार हाते ट्र्याक्टर वितरण कार्यक्रमले किसानलाई आधुनिक कृषि उपकरणको प्रयोगमा सहजता पुर्‍याउने, कृषि उत्पादन वृद्धि गर्ने तथा श्रम लागत घटाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्