बजेटलाई अन्तिम रूप दिन अर्थ मन्त्रालय रातभर सक्रिय, कर्मचारीको तलब वृद्धि गर्ने तयारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्यय विवरण भोलि संयुक्त सदनमा प्रस्तुत गर्दै छन् ।

बजेटको मस्यौदालाई अन्तिम रुप दिने कार्य अहिले अर्थमन्त्रालयमा भइरहेको छ ।

अर्थमन्त्री वाग्लेको नेतृत्वमा बजेट निर्माणको टिमले मस्यौदालाई ‘फाइनल टच’ दिन लागिपरेको हो । बजेटलाई पूर्णता दिने क्रममा आज रातभर अर्थ मन्त्रालय जागा रहने छ । स्रोतका अनुसार बजेटको आकारलगायतका महत्वपूर्ण विषयहरु आजै रातभरमा टुङ्ग्याइने तयारी छ ।

रास्वपा सरकारको पहिलो बजेट हुनाले अर्थमन्त्री वाग्ले दवावमा छन् । एकातिर स्रोतको सीमितता र अर्कोतिर जनताको असिमित जनआकाङ्क्षाबीच सन्तुलन मिलाउने चुनौति उनलाई छ । अघिल्लो वर्षको सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएको थियो । यस वर्षको सिलिङ १८ खर्ब ९० अर्ब रुपैयाँ छ । तर, बजेटले यो सिलिङ नाघ्ने देखिन्छ ।  २१ देखि २२ खर्बसम्मकाे बजेट आउन सक्ने स्राेतले बतायाे ।

बजेटको आकारमा कर्मचारीको तलवले पनि प्रभाव पार्ने छ । अर्थमन्त्रीले कर्मचारीको तलव बढाउने तयारी गरे पनि केकति बढाउने भन्ने फाइनल भइसकेको छैन । थोरै तलव बढाउँदा पनि अत्यधिक दायित्व सिर्जना हुने भएकाले उनी दवावमा छन् ।

कर्मचारीको तहअनुसार प्रतिशतमा तलव बढाउन गरी खाका बनाइएको र त्यसलाई आज राति टुङ्ग्याइने स्रोतले बतायो ।
अर्थमन्त्रीले दुई दिनअघि प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछोनसँग भेटेका थिए । उक्त भेटका क्रममा शाह र लामिछानेले बजेटको प्रारम्भिक मस्यौदा सरसर्ति बढेर केही सुझावहरु दिएका छन् । त्यसका आधारमा अर्थमन्त्रीले बजेटलाई पूर्णता दिँदै छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्