जन्मथलो छाड्न बाध्य युवाको कथा बोकेको ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो)

उक्त भिडियो ‘Arjun Sunar’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

ओमसरा घर्ति रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१७ जेठ, काठमाडौं । गायक अर्जुन सुनार को नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

रोजगारीको खोजीमा गाउँ, परिवार र जन्मथलो छाड्न बाध्य नेपाली युवाको यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको भिडियो जुम्लाको सदरमुकाम खलंगा मा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो।

भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित दिपक पौडेल र चिरञ्जीवी दाहाल ले संयुक्त रूपमा रिबन काटेर भिडियो विमोचन गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले ‘कर्णाली तिर’ ले कर्णाली क्षेत्रको सामाजिक–आर्थिक अवस्था, बेरोजगारी र त्यसबाट उत्पन्न पारिवारिक विछोडको पीडालाई प्रभावकारी ढंगले प्रस्तुत गरेको बताए। उनले यस्ता सिर्जनाले समाजका वास्तविक समस्या उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

सार्वजनिक भिडियोमा कर्णालीका पहाडी गाउँ, ग्रामीण जनजीवन र अभावबीच संघर्ष गरिरहेका परिवारहरूको कथा चित्रण गरिएको छ। आर्थिक संकटका कारण गाउँमै भविष्य नदेखेपछि घर छाड्न बाध्य हुने एक युवाको जीवनसंघर्षलाई भिडियोको मुख्य विषय बनाइएको छ।

भिडियोमा मुख्य भूमिकामा स्वयं गायक अर्जुन सुनार देखिएका छन्। उनले परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले श्रीमती र सानो सन्तानलाई छाडेर परदेशिन बाध्य युवकको भूमिका निर्वाह गरेका छन्। उनकी श्रीमतीको भूमिकामा राज्य लक्ष्मी नेपाली रहेकी छन्।

श्रीमान्–श्रीमतीबीचको आत्मीय सम्बन्ध, बाध्यात्मक विछोड र पुनर्मिलनको प्रतीक्षामा बित्ने भावनात्मक क्षणहरूलाई भिडियोमा संवेदनशील ढंगले प्रस्तुत गरिएको छ। कर्णाली नदी आसपासका दृश्य, सुनसान बस्ती र रित्तिँदै गएका घरआँगनमार्फत गाउँबाट हुने युवाको पलायनले परिवार तथा समाजमा पार्ने असरलाई देखाउने प्रयास गरिएको छ।

भिडियोले कर्णाली क्षेत्रको मौलिक संस्कृति, परम्परागत पहिरन र भौगोलिक सौन्दर्यलाई समेत समेटेको छ। गीतको निर्देशन आयुष शाही ले गरेका हुन् भने कथा राजेश विश्वकर्मा को रहेको छ। छायांकन प्रकाश विश्व ले गरेका छन्। भिडियोका निर्माता दुर्गा रावत हुन् भने सम्पादन मदन नेपाली ले गरेका छन्।

सम्पादक मदन नेपालीका अनुसार ‘कर्णाली तिर’ ले ग्रामीण नेपालको प्रतिनिधिमूलक कथा प्रस्तुत गर्दै रोजगारीका लागि भइरहेको युवा पलायन र त्यसले निम्त्याएको सामाजिक प्रभावलाई दर्शकमाझ पुर्‍याउने प्रयास गरेको छ। भिडियोले कर्णालीका वास्तविक कथा र भावनालाई कलात्मक रूपमा अभिव्यक्त गरेको उनको भनाइ छ।

पूरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्