वास्तविक समाजवाद र साम्यवाद महानगरमा हुँदा मैले लागू गरेको थिएँ: बालेन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

 १७ जेठ, काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र साहले गरिब र विपन्नलाई निःशुल्क शिक्षा–स्वास्थ्य उपलब्ध गराउन सरकार केन्द्रित रहेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद प्रमेश हमालले गरेको प्रश्नको जवाफ दिँदै उनले देशभरका गरिब तथा विपन्न नागरिकले शिक्षा र स्वास्थ्य सेवामा पहुँच पाउने व्यवस्था विस्तार गर्ने बताए । यसका लागि संघीय सरकार र स्थानीय तहबीच सहकार्य गरिने उनको भनाइ छ ।

उनले संविधानमा निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था भए पनि त्यसअनुसार पर्याप्त बजेट उपलब्ध नभएको उल्लेख गरे ।

तत्कालका लागि सबै नागरिकलाई नभई कम्तीमा विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढिरहेको उनको दाबी छ ।

उनले साम्यवाद र समाजवादका भाषण गर्न सहज भए पनि कार्यान्वयनमा ल्याउन कठिन हुने बताए । यी अवधारणालाई भाषणमा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाको मेयर रहँदाको अनुभव स्मरण गर्दै उनले निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति तथा निजी अस्पतालमा १० प्रतिशत शय्या विपन्न नागरिकका लागि सुनिश्चित गर्ने व्यवस्था कार्यान्वयन गरिएको बताए । यस्ता कार्यक्रमहरू नै वास्तविक समाजवाद भएको उनको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्