काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट आकारका हिसाबले ठूलो देखिए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा भने सानो रहेको बताएका छन् ।
अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले चालु आर्थिक वर्षका लागि प्रक्षेपित जीडीपी करिब ७४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको उल्लेख गर्दै बजेट त्यसको जम्मा २८.५ प्रतिशत मात्र रहेको बताए ।
उनले जीडीपीको अनुपातमा बजेटको आकार ३० प्रतिशतभन्दा माथि जाने विगतको प्रवृत्तिलाई तोडेर राज्यको कार्यान्वयन क्षमता अनुकूल हुने गरी बजेट ल्याइएको दाबी गरे ।
वाग्लेले जीडीपीको वास्तविक आकार आगामी दिनमा केही तलमाथि हुन सक्ने र त्यसबारे मध्यावधि समीक्षामा थप मूल्याङ्कन गरिने बताए । उनले बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत, क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको बताए ।
अर्थमन्त्रीका अनुसार सरकारले बजेटलाई २५–३० प्रतिशतको दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयनयोग्य बनाउने प्रयास गरेको छ ।





