१८ जेठ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले अभिव्यक्ति सच्याएर माफी माग्न गरेका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले संविधानविरुद्ध नजान चेतावनी पनि दिए ।
‘यो सदन, यो व्यवस्था, यो संविधान हाम्रा अग्रज र नेपालीले ठूलो योगदान दिएर, रगत बगाएर ल्याएको हो । तर प्रधानमन्त्रीले राष्ट्रघाती देशद्रोही अभिव्यक्ति दिनु भयो । यसको रेकर्ड हटाउँदै माफी माग्न माग गर्दछु,’ उनले भने, ‘लिपुलेक, लिम्पियाधुरा कालापानी सुस्ता हाम्रो भूमि हो । नेपालले कतै एक इन्च भूमि मिचेको छैन । थाहा छैन भने पढे हुन्छ । अध्ययन गरे हुन्छ । नजाने हामीसँग सिक्न आए हुन्छ ।’
उनले प्रधानमन्त्रीले भारतको भूमि नेपालले पनि मिचेको छ भन्ने अभिव्यक्ति दिएर नेपालीको शीर झुकाउने काम गरेको पनि बताए ।
‘आज सिंगो नेपाली शीर झुकाइरहेका छन् । भारतीय मिडियामा खुसीयाली मनाउने काम भयो । प्रधानमन्त्रीबाट विदेशीलाई खुसी बनाउने काम भयो,’ उनले भने, ‘आज रास्वपाको सभापति भारत जानुअघि चाकडी गरिएको हो ? ‘
उनले प्रधानमन्त्री बालेन शाहको पोषाकप्रति पनि आपत्ति जनाए । ‘संसद्को गरिमा कायम गरिनुपर्छ । यो कुनै फुटबल खेल्ने, फेसन शो गर्ने ठाउँ हैन । सेनाले आयोजना गरेको कार्यक्रम नेपाली पोषाकमा जानुहुन्छ,’ उनले भने, ‘ तर उहाँ सदनमा आउनुहुन्छ फुटबल खेल्ने ड्रेसमा । प्रधानमन्त्रीले माफी माग्नुपर्छ । देशवासीको नाममा । प्रधानमन्त्रीले माफी नमागेसम्म विरोध जारी रहने जानकारी गराउन चाहन्छु ।’





