प्रहरी पोशाक मुद्दामा अख्तियर सक्रिय, पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल र आईजीपीलाई बोलाहट

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१८ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा निर्वाचन प्रहरी (म्यादी) का निम्ति खरिद गरिएको पोशाक घोटालासम्बन्धी मुद्दामा सक्रियता बढाएको छ ।

अख्तियार स्रोतका अनुसार उक्त आयोगको ३ नम्बर महाशाखाले मुद्दामा सक्रियता बढाएको हो । त्यस मुद्दामा सहमहान्यायाधिवक्ता शम्भु कार्की अनुसन्धान अधिकृत तोकिएका छन् । उनको सहयोगका लागि शाखा अधिकृत मानबहादुर बुढालाई अख्तियारले जिम्मेवारी दिएको छ । उक्त महाशाखाले तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई बयानमा बोलाएको अख्तियारस्रोतले जनाएको छ ।

उक्त विषयमा ६० करोडभन्दा बढी भ्रष्टाचार भएको भनी अख्तियारमा दर्ता छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० जनशक्ति भर्ना गरेको थियो । उनीहरूका निम्ति चुस्ता, जुत्ता, मोजा, बेल्ट, स्वेटर र लाठीको बजार मूल्यभन्दा बढी रकम देखाएर घोटाला भएको उजुरी अख्तियारमा दर्ता भएको थियो । लगभग ३५०० रुपैयाँ पर्ने ती सामाका निम्ति कागजमा प्रतिव्यक्ति ६५०० रुपैयाँसम्म खर्च देखाइएको उजुरीमा उल्लेख भएको स्रोतले बतायो ।

निर्वाचन प्रहरीका निम्ति करिब १ अर्ब १० करोड बराबरको सामान खरिद भएको थियो । उक्त खरिद प्रक्रियामा संलग्न ज्ञानेन्द्र बस्नेतलगायतका व्यक्ति उच्च अदालत पाटन र अख्तियारमा अनुसन्धान माग गर्दै उजुरी गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी