१८ जेठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा आयोजित तेस्रो गोकर्णेश्वर महोत्सव २०८३ जेठ १७ गते वडा नं. ४ का वडा अध्यक्ष जयराम महत को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
समापन समारोहमा चर्चित गायक कमल बि.सी. माल्दाइ, सुमिना लो, अञ्जु सुनार लगायत स्थानीय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुतिले महोत्सवलाई थप आकर्षक र उत्साहपूर्ण बनाएको थियो।
औद्योगिक शान्ति नेपाल को आयोजनामा सम्पन्न महोत्सवमा भिजन नेपाल क्लब को विशेष सहयोग रहेको आयोजक संस्थाका अध्यक्ष सन्दीप महत ले जानकारी दिनुभयो।
महोत्सवका अध्यक्ष प्रेम दाहाल रहनुभएको थियो भने निर्देशकको भूमिका पनि उहाँले नै निर्वाह गर्नुभएको थियो। महोत्सवको संयोजन सीताराम दाहाल ले गर्नुभएको थियो।
२५ दिनसम्म सञ्चालन भएको महोत्सवमा १०० भन्दा बढी व्यापारिक स्टलहरू राखिएका थिए। गोकर्णेश्वरमै पहिलो पटक निर्माण गरिएको ‘लन्डन ब्रिज’ आकर्षणको केन्द्र बनेको थियो, जसले दर्शकहरूको विशेष ध्यान खिचेको आयोजकले जनाएको छ।
महोत्सव २०८३ साल वैशाख २४ गतेदेखि सुरु भई जेठ १७ गतेसम्म सञ्चालन भएको थियो। महोत्सव अवधिभर दैनिकजसो ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहेको थियो। साथै, गोकर्णेश्वरमै पहिलो पटक ‘गोकर्णेश्वर आइडल’ प्रतियोगिता समेत आयोजना गरी सफलतापूर्वक सम्पन्न गरिएको थियो।
महोत्सवका निर्देशक प्रेम दाहालले गोकर्णेश्वरको कला, संस्कृति, परम्परा र स्थानीय प्रतिभालाई विश्वभर रहेका नेपालीमाझ पुर्याउने तथा कला–संस्कृतिमार्फत गोकर्णेश्वरलाई चिनाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बताउनुभयो।
स्थानीय कला, संस्कृति, मनोरञ्जन, व्यापार तथा पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको तेस्रो गोकर्णेश्वर महोत्सवले गोकर्णेश्वर क्षेत्रको पहिचानलाई थप उचाइमा पुर्याएको सहभागीहरूको भनाइ रहेको छ।









