१९ जेठ, काठमाडौं । पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बनस्थलीमा बस्दै आएका ५० वर्षीय कमल नारायण विश्वास रहेका छन् ।
विगत १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड इक्विपमेन्ट अपरेटरका रूपमा कार्यरत विश्वास सोमबार राति साढे ८ बजे बटिक एयरको उडानमार्फत भिजिट भिसामा मलेसियाको क्वालालम्पुर जान लागेका थिए ।
विमानस्थल प्रहरीद्वारा गरिएको ब्यागेज स्क्रिनिङ तथा शरीर खानतलासीका क्रममा उनको कालो रंगको लगेजभित्र फलामको कराहीमा लुकाइएका अवस्थामा विभिन्न देशका मुद्रा फेला परेको विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिए ।
प्रहरीका अनुसार उनको राहदानी जाँच गर्दा उक्त मुद्राको वैधानिक दरपिठ नभएको तथा उनले नेपालबाट हालसम्म २६ पटक विदेश यात्रा गरेको देखिएको छ ।
उक्त घटनापछि उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयले जनाएको छ ।






