केन्द्र सरकारले रोकेको सार्वजनिक सवारी दर्ता बागमतीमा खुल्लै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

 २० जेठ, काठमाडौं । नयाँ सार्वजनिक सवारीको दर्ता प्रक्रिया रोक्ने संघीय सरकारको निर्णयबीच बागमती प्रदेश सरकारले सवारी साधन दर्ता प्रक्रिया साबिकबमोजिम नै गर्न निर्देशन दिएको छ ।

यातायात कार्यालयले सरकारको निर्णयले अन्योल बढेको बताएपछि पहिलेजस्तै सार्वजनिक सवारीको दर्तालाई निरन्तरता दिन निर्देशन दिइएको श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले बताए ।

उनले भने- हामीले दर्ता रोक्नु भनेका छैनौँ । सवारीसाधन दर्ताको अधिकार प्रदेशलाई नै छ । सरकारको निर्णयको चिठ्ठी एउटा कार्यालयले हामीलाई पठाएको छ । हामी अध्ययनमै छौँ । नरोक्नु भनेका छौँ । यातायात कार्यालयमा काम भइरहेको छ ।

व्यवसायीले किनेर ल्याइसकेका गाडीको दर्ता रोकिँदा ब्याज, किस्तामा असर परेको गुनासो गरिरहेका थिए ।

२ साताअघि सरकारले अर्को सूचना नभएसम्मका लागि ईभीसहित नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्न भनेको थियो ।

सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण बढेको, सडकमा सवारीको चाप र ट्राफिक जामले आवतजावतमा चरम कठिनाइ थपेकोले यस्तो निर्णय लिइएको सरकारको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी