२३ जेठ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले लगनशील भएर काम गर्नका लागि कर्मचारीहरूलाई आग्रह गरेकी छिन् ।
शुक्रबारदेखि राजधानीमा भएको दोस्रो कानुन अधिकृत सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले काम गर्ने कुरामा हिचकिचावट नगर्न कानुनका कर्मचारीहरूलाई आग्रह गरिन् ।
भनसुन गर्ने प्रचलनकै कारण काम नहुने प्रचलन यसअघि बढ्दै गएको भन्दै वर्तमान सरकार त्यसको विरुद्धमा भएको स्मरण गराइन् ।
कानुनका विद्यार्थीले कानुन मन्त्रालयमा काम गर्न पाइयोस् भनेर राखेको चाहनालाई सम्मान गर्दै उनले त्यसप्रति आफ्नो ध्यान हुने बताइन् ।
यद्यपि भनसुनको प्रचलन भने अघि नबढाउन उनले प्रष्ट आग्रह गरिन् ।
‘सोर्सफोर्स गर्ने प्रचलन जुन छ त्यसबाट चाहिँ सबै जना टाढा रहनुहोला । त्यो अन्याय गर्ने अरु कोही होइन, तपाईंहरूकै साथी हो । साथीले साथीलाई धोका दिने काम नगर्नुहोला,’ मन्त्री गौतमले भनिन्, ‘प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालय सक्रिय रुपमा भनसुन कसले गर्छ त्यो भनसुन गर्नेलाई त्यो भन्दा पर पुर्याउनेगरी काम भइरहेको छ ।’
उनले कतिपय मान्छे भनसुन गर्न आउँदा उसैलाई घाटा हुने बताइन् ।
‘कहिलेकाहीँ हुन्छ भनेर कतिपय मान्छे आउनुहुन्छ त्यसको घाटा तपाईंहरूलाई नै हुन्छ । देश त हाम्रै हो नि, मार्तडीमा, मधेशमा, पहाडमा वा काठमाडौंमा गएर काम गर्न पर्यो भने पनि देश त हाम्रै हो नि,’ उनले भनिन्, ‘काम गर्न हिच्किचायो भने देश त हाम्रै हो नि । मिलेर काम गर्यो भने देश त बनिहाल्छ नि ।’
न्यायका संस्थामा काम गर्ने कानुनका अधिकृतहरू अरू निकायभन्दा जिम्मेवार भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।
‘यो क्रम दिनहुँजस्तो चलिरहेको हुन्छ । कहिले कहिले यसरी नियमति रुपमा सेड्युलमा काम गर्दा हाम्रो जिम्मेवारी, हाम्रो देशप्रतिको कर्तव्य कहिले कहिले नियमित सेड्युलमा हराउन पनि सक्छ,’ मन्त्री गौतमले भनिन् ।
राज्यसत्ता सञ्चालन गर्ने क्रममा कानुन मन्त्रालय मस्तिष्क भएको उनको भनाइ थियो । ‘हामी जिम्मेवारी संस्थामा काम गरिरहेका छौं । यहाँहरूले दिनुभएको राय, टिप्पणी र मस्यौदाले आज यो देशको नागरिकको जीवनमा फरक पारिरहेको हुन्छ,’ उनले भनिन् ।





