भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीले भने– नेपाल सरकारसँग कुनै पुरानो बोझ छैन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२३ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले छिमेकी राष्ट्र भारतसँग सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

भारत भ्रमणमा रहेका मन्त्री खनालले शनिबार साँझ नयाँ दिल्लीमा भएको विदेशमन्त्री डा. एस जयशंकरसहितको टोलीसँगको भेटवार्ताका क्रममा भारतसँगको सम्बन्ध ऐतिहासिक मात्रै नभएको उल्लेख गरे ।

उनले आर्थिक रूपान्तरण र परिणाममुखि कूटनीतिका लागि स्पष्ट र निर्णायक जनादेश आफ्नो पार्टीले प्राप्त गरेको ब्रिफिङका क्रममा सुनाए ।

‘नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको छ । नयाँ सरकारको नेतृत्वमा हामी ठोस रूपमा उद्देश्यसहित सम्भव भएसम्म उच्च तहमा संलग्न हुन तयार छौं,’ मन्त्री खनालले भनेका छन् ।

उनले आफ्नो पार्टीले प्राप्त गरेको जनादेश उल्लेख भएको सुनाउँदै कुनै पनि पुरानो बोझ नभएको बताए ।

नजिकका छिमेकी र सबैभन्दा महत्त्वपूर्ण साझेदारसँग रुपान्तरणकारी सम्बन्ध निर्माण गर्नेमा नेपाल सरकार दृढ रहेको पनि बताए ।

सभापति रवि लामिछानेको हालैको भ्रमणका क्रममा ‘हिन्दुस्तान टाइम्स’ मा लेखिएको लेख उद्धृत गर्दै त्यसमा लेखेजस्तैगरी अघि बढ्नेमा पनि सरकार प्रतिबद्ध रहेको उनले सुनाए ।

आधुनिक, विकासमुखी साझेदारीमा नेपाल भारत सम्बन्धलाई रूपान्तरण गर्न चाहेको उनको भनाइ थियो ।

उनले प्रधानमन्त्री बालेन शाहको नाम लिँदै भारत सरकार र भारतीय जनताप्रति अभिवादन गर्दै आफ्नो सम्बोधनको सुरुवात गरेका थिए ।

विपद् वा पश्चिम एसियाको संकटका बेला भारत सरकारबाट प्राप्त भएको सहयोगको पनि उनले प्रशंसा गरे ।

‘नेपाललाई हुने इन्धन र मल आपूर्तिमा तपाईंहरू सधैँ हाम्रो सहयोगी बन्नुभएको छ । म यस कुरालाई स्वीकार गर्दै नेपाल सरकार र नेपाली जनता दुवैका तर्फबाट हाम्रो कृतज्ञता व्यक्त गर्न चाहन्छु,’ खनालले भनेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी