२८ जेठ, काठमाडौं । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणमा अदालतमा विचाराधीन मुद्दामा हिजोबाट बहस सुरु भएको छ ।
फैसला चरणमा रहेको मुद्दामाथि जिल्ला अदालतका न्यायाधीश तेज खड्काको इजलासमा दैनिक बहस भइरहेको हो ।
जाहेरवालाको तर्फबाट बहस गर्ने वकिलले मुद्दामा केही हाइप्रोफाइल राजनीतिज्ञको नाम जोडेर उनीहरूलाई झिकाउन आदेशको माग गरेका छन् ।
अधिवक्ता स्वागत नेपालले यस्तो माग गरेपछि प्रतिवादीहरूतर्फका वकिलले कडा प्रतिवाद गरे । दुईतर्फी सवाल जवाफपछि इजलासको माहोल गर्माएको र ८ नम्बर इजलासमा सुरक्षा बढाइएको स्रोतले बतायो ।
अधिवक्ता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली र उनका स्वकीय सचिव राजेश बज्राचार्य, अख्तियारका प्रमुख प्रेमकुमार राई, एमाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादल, कांग्रेसकी आरजू राणा र मन्जु खाँडलाई झिकाएर बयान लिनुपर्ने माग गरेका हुन् । उनीहरूलाई यो मुद्दामा तान्नका लागि यथेष्ट आधार प्रमाणहरू पेश भएको उनले जिकिर गरे ।
‘उहाँहरूको नाम लिएर भएका लेनदेनको अडियो, भिडिओ र अन्य प्रमाणहरू मुद्दासँगै पेश भएको छ, उहाँहरूलाई पक्राउ गरेर बयान नलिईकन मुद्दाको फैसला हुन सक्दैन,’ नेपालले भने ।
त्यसलगत्तै प्रतिवादीतर्फका वकिलहरु आक्रोशित बनेका थिए । अधिवक्ता धर्मलाल रेग्मीले असम्बन्धित व्यक्तिहरूको नाम लिएर निजहरूको मानमर्दन गर्न खोजिएको भन्दै आपत्ति जनाए । अदालतले फैसलामा ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।
जाहेरवालाको तर्फबाट अधिवक्ता ध्रुवलाल श्रेष्ठले यो मुद्दाका अभियुक्तहरूको सम्पत्ति रोक्का नगरिएको विषयमा इजलासमा प्रश्न गरेका थिए । ‘यस्तो प्रकृतिको मुद्दामा सुरुमै सम्पत्ति रोक्का गरिन्छ, यसमा किन गरिएन ?’ उनले प्रश्न गरेका थिए ।
अहिले सरकारी वकिलहरूले बहस गरिरहेका छन् । यदि जाहेरवालाको मागअनुसार इजलासले आदेश गरेन भने छिट्टै फैसलाको सम्भावना छ ।





