काठमाडौँ । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले मुलुकमा पछिल्लो समय विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार जारी संयुक्त प्रेस विज्ञप्तिमार्फत् पापडले संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षण राज्य सञ्चालनका आधारभूत मान्यता भएको उल्लेख गर्दै वर्तमान शासन सञ्चालनको शैलीले ती मूल्य–मान्यतालाई संस्थागत रूपमा कमजोर बनाउने खतरा देखिएको जनाएको हो ।
विज्ञप्तिमा लोकतन्त्र केवल निर्वाचनमार्फत् प्राप्त बहुमतको शासन मात्र नभई संविधानको सर्वोच्चता, शक्तिको सन्तुलित प्रयोग, संस्थागत उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता, नागरिक स्वतन्त्रता तथा विधिको शासनमा आधारित प्रणाली भएको स्मरण गराइएको छ।
पापडले पछिल्लो समय सुकुम्वासी बस्ती हटाउने कार्य, न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि असर पर्ने गतिविधि, संसद्को प्रभावकारी भूमिका खुम्च्याउने अभ्यास, नागरिक अधिकार सीमित गर्ने प्रयास तथा प्रेस स्वतन्त्रता र सूचनाको हकमाथि आघात पुग्ने गरी सञ्चारमाध्यममाथि आर्थिक दबाब सिर्जना गरिएका विषयप्रति असन्तुष्टि जनाएको छ।
त्यस्तै, संविधानप्रदत्त पेशागत तथा ट्रेड युनियन अधिकारमाथि नियन्त्रणमुखी व्यवहार, विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप तथा शिक्षा र स्वास्थ्य क्षेत्रका नीतिगत अन्योलताप्रति पनि सञ्जालले विरोध जनाएको छ । आम नागरिकको जीविका, रोजगारी, व्यवसाय तथा सम्मानजनक जीवनयापनमा प्रतिकूल असर पार्ने कदमप्रति समेत चासो व्यक्त गरिएको छ ।
पापडमा आबद्ध संस्थाहरूले सरकारलाई नागरिक सर्वोच्चता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन तथा संविधानको अक्षर र भावनाको सम्मान गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, न्यायपालिकाको स्वतन्त्रता र नागरिक अधिकारको संरक्षण गर्न आग्रह गरेका छन् ।
सञ्जालले लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षाका लागि लोकतन्त्रवादी शक्ति, पेशागत संगठन, सञ्चार क्षेत्र, शैक्षिक समुदाय तथा नागरिक समाजलाई एकजुट हुन पनि आह्वान गरेको छ।
यसैबीच, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि अंकुश लगाउने सरकारी प्रयासको विरोधमा नेपाल पत्रकार महासंघले असार ५ गते काठमाडौँको माइतीघरमा आयोजना गर्ने र्यालीप्रति पापडले ऐक्यबद्धता जनाएको छ। साथै उक्त र्यालीमा सहभागी हुन सबैलाई आह्वान गरेको छ।
पापडको विज्ञप्तिमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, नेपाल बार एशाेसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र, नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा. रमेशकुमार जोशी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी तथा नेपाल इन्जिनियर्स एशाेसिएशनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले हस्ताक्षर गरेका छन् ।





