मूल्यवृद्धिको मार : स्थानीय गोलभेँडा २५३ प्रतिशतसम्म महँगियो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, असार ८ : देशभर दैनिक उपभोग्य वस्तुको मूल्यमा निरन्तर वृद्धि भइरहेका बेला तरकारी तथा फलफूलको भाउ अस्वाभाविक रूपमा बढेको देखिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको जेठ महिनाको मूल्य समीक्षा प्रतिवेदन अनुसार बजारमा सबैभन्दा बढी स्थानीय गोलभेँडाको मूल्य बढेको छ।

प्रतिवेदनअनुसार सानो लोकल गोलभेँडाको मूल्य एकै महिनामा २५३ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो १७ रुपैयाँबाट ६० रुपैयाँसम्म पुगेको छ। यस्तै, हरियो बुलेट खुर्सानीको मूल्य १७९.४ प्रतिशत, दसहरी आँपको मूल्य १६० प्रतिशत, सानो टनेल गोलभेँडाको मूल्य १५८.६ प्रतिशत र पिँडालुको मूल्य १५७ प्रतिशत ले बढेको छ।

विभागले मूल्यवृद्धिको मुख्य कारण उत्पादन, ढुवानी र वितरण लागत बढ्नुका साथै बजारमा बिचौलियाको प्रभाव र आपूर्ति प्रणालीमा देखिएका समस्या रहेको जनाएको छ।

खाद्यान्नतर्फ पनि अधिकांश प्रकारका चामल तथा दालको मूल्य बढेको छ। कच्चापदार्थको मूल्यवृद्धि, ढुवानी खर्च र पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण चामल तथा गेडागुडी महँगिएको प्रतिवेदनमा उल्लेख छ। यद्यपि तेल, आटा, मैदा र मकैको मूल्यमा भने सामान्य गिरावट आएको छ।

माछा, मासु र अण्डाको मूल्यमा समेत वृद्धि देखिएको छ। तर बर्डफ्लुको प्रभावका कारण ब्रोइलर कुखुराको मासुको मूल्यमा भने केही कमी आएको विभागले जनाएको छ।

विभागका अनुसार आन्तरिक बजार व्यवस्थापनको कमजोरीसँगै अन्तर्राष्ट्रिय कारणले पनि मूल्यवृद्धिलाई थप चर्काएको छ। मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनाव, विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै जानु तथा भारत–चीनका व्यापारिक नीतिमा भएका परिवर्तनले नेपाली बजारमा प्रत्यक्ष असर परेको छ।

यसैबीच, सरकारले बजेटमार्फत ल्याएका कर तथा राजस्व सम्बन्धी नीतिका कारण व्यापारीहरूमा अन्योल बढ्दा बजारमा कृत्रिम मूल्यवृद्धि र कालोबजारीलाई समेत प्रश्रय मिलेको विश्लेषण गरिएको छ।

उपभोक्ताहरू भने दिनहुँ बढ्दो महँगीका कारण सबैभन्दा बढी प्रभावित बनेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्