कहाँ–कहाँ फैलियो बर्डफ्लु ?, काठमाडौँ उपत्यका ‘हटस्पट’

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ : उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा बर्डफ्लु (एच फाइभ एन वान) को संक्रमण तीव्र रूपमा फैलिएको छ। उपत्यका बर्डफ्लुको ‘हटस्पट’ बनेको पशु सेवा विभागले जनाएको छ।

कहाँ-कहाँ देखियो बर्डफ्लु ?

सुरुमा कोसी प्रदेशमा ए (एच नाइन एन टु) भाइरसको संक्रमण देखिएको थियो। हालसम्म १० भन्दा बढी जिल्लामा बर्डफ्लु फैलिएको पशु सेवा विभागले जनाएको छ।

पूर्वबाट सुरु भएको यो रोगको संक्रमण मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, पश्चिम नवलपरासी, काठमाडौं, ललितपुर भक्तपुर हुँदै काभ्रेसम्म फैलिएको छ।

काठमाडौंमा भने ए (एच फाइभ एन वान) भाइरसको संक्रमण पुष्टि भएको अधिकारीहरूले बताएका छन्। उपत्यकामा कीर्तिपुर, चन्द्रागिरि, तारकेश्वर, गोदावरी, महालक्ष्मी लगायत ५० भन्दा बढी स्थानमा बर्डफ्लुको संक्रमण फैलिएको विभागले जनाएको छ।

विभागले पशु प्राविधिकहरूको चार टोली परिचालन गरी बर्डफ्लु पुष्टि भएका फार्महरूमा कुखुरा र हाँसहरू नष्ट गरेको जनाएको छ। अव्यवस्थित फार्म, जंगली चराको आवतजावत र जैविक सुरक्षा मापदण्डको पालना नहुँदा बर्डफ्लुका संक्रमण फैलिएको अधिकारीहरूले बताएका छन्।

बर्डफ्लु पुष्टि भएका क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिन सरकारी अधिकारीहरूले घरपालुवा पन्छी, पन्छीजन्य पदार्थ वा पन्छी उत्पादन सामग्री नष्ट गरी निःसंक्रमण गरिरहेका छन्।

रोक्न के छ उपाय?

संक्रमित फार्मको कुखुरा चल्ला, अण्डा, दानालागायत कुखुराको सुली नष्ट गरिसकेपछि निसंक्रमण गरेर ४२३ दिनसम्म मानिसको आवतजावत बन्द गर्नुपर्ने प्रोटोकल छ। तर हाल घना बस्ती भित्रै संक्रमण फैलिंदा आवतजावत रोक्न सहज देखिँदैन।

खासगरी पन्छीमा फैलिन रोग भएपनि बर्डफ्लु संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यक्तिहरू बढी जोखिममा रहने भएकाले सचेत रही स्वास्थ्य सुरक्षाका उपाय अपनाउन विज्ञहरुले सुझाव दिएका छन्।

बिरामी वा मरेका पन्छीलाई नछुन, मासु र अण्डा राम्ररी पकाएर मात्र खान तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन सुझाइएको छ।

बर्डफ्लु अर्थात् एभियन इन्फ्लुएन्जा भाइरसहरू ए (एच फाइभ एन वान), ए (एच नाइन एन टु), ए (एच नाइन एन एकस) बाट मुख्यतः घरेलु कुखुरा, हाँसलगायत संक्रमित हुन्छन्।

बर्डफ्लुको कुनै उपचार वा खोप नभएकाले यसको फैलावट रोक्ने एउटै उपाय संक्रमित पन्छीहरु नष्ट गर्नु हो। त्यसैले अहिले सरकारी निकायका अधिकारीहरुले बर्डफ्लु देखिएका फार्महरुमा भट्टाभट कुखुरा नष्ट गरिरहेका छन्।

पशु सेवा विभागले पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधन प्रवेश नगराउन, चुना लगायनका निःसंक्रामक औषधि प्रयोग गर्न, एउटा फार्ममा काम गर्ने व्यक्ति अर्कोमा नजान अपिल गरेको छ।

प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेन पुनः प्रयोग नगर्ने, खोर भित्र जाँदा अनिवार्य रूपमा एप्रोन र बुट प्रयोग गर्ने, फार्म परिसरभित्र कुकुर, विरालो, मुसा लगायतका अन्य पशुपन्छी छिर्न नदिने जस्ता उपाय अपनाएर संक्रमण फैलनबाट रोक्न सकिन्छ।

यस्तैगरी, मरेका पन्छीलाई यथासक्य छिटो सुरक्षित रुपमा खाल्डोमा गाड्न, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवर्या रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न विभागले भनेको छ। अकस्मात धेरै संख्यामा पन्छी बिरामी परे वा मरेमा तुरुन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गराउन पनि अपिल गरिएको छ।

राहतको व्यवस्था

सरकारले बर्ड फ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ र पन्छी उत्पादन सामग्रीको सम्बन्धित धनीलाई राहत दिन सरकारले बर्ड फ्लु नियन्त्रण नियमावली बमोजिम मापदण्ड बनाएको छ।

राहत रकम प्राप्त गर्नको लागि सम्बन्धित धनीले नष्ट गरेको मितिले ३० दिनभित्र सम्बन्धित कार्यालयमा निवेदन दिनुपर्छ। रीतपूर्वक रातह माग गरेमा निर्धारित दररेटका आधारमा क्षतिको रकम निर्धारण गरी त्यसको ७५ प्रतिशत रकम राहत उपलब्ध गराइने व्यवस्था छ।

यस्तैगरी बर्डफ्लु नियन्त्रण कार्यका लागि रोग नियन्त्रण कक्ष, प्रयोगशाला, आकस्मिक रोग अन्वेषण, र्‍यापिड रेसपोन्स समेतका प्रतिकार्यमा खटाइएका कर्मचारी वा व्यक्ति र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति समेतको खटिएको अवधिको लागि दश लाख रुपैँयाको जोखिम बीमा उपलब्ध गराउनेछ।

जोखिम बीमा नगरेको भए रोग नियन्ण्त्राका लािग खटिएको अवधि वा खटिएको मितिले ४२ दिनभित्र सोही रोगको कारणबाट बिरामी भएमा निःशुल्क उपचार वा मृत्यु भएमा प्रत्येक मृतकको परिवारलाई सरकारले १० लाख रुपैँया क्षतिपूर्ति उपलब्ध गराउनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्