विदेशबाट फर्किएपछि देउवाको बदलिएको बोली : हिन्दुत्व र राजसंस्थाप्रति ‘सफ्ट’ संकेत

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएको जम्मा ३ दिन भएको छ । यो तीन दिनमा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभेच्छुकहरुको स्वागत ग्रहणमात्रै गरेनन् आफू पक्षीय कांग्रेसको राष्ट्रिय भेलाको उद्घाटदेखि समापनसम्म सक्रिय भए ।

विमानस्थल उत्रनासाथ वक्तव्य सार्वजनिक गरेका देउवाले सोहीदिन चुनदेवीस्थित सम्पर्क कार्यालयबाट समर्थकलाई सम्बोधन गरे । राष्ट्रिय भेलाको उद्घाटनमा बोले, अनि समापनमा पनि बोले । पछिल्ला तीन दिनमा देउवाको सक्रियता जति अर्थपूर्ण देखिन्छ, उत्ति नै गम्भीर छ उनले प्रवाह गरेको सन्देश ।

जेनजी आन्दोलनमा आफ्नै निवासमा व्यहोर्नुपरेको साङ्घातिक आक्रमण, पार्टीभित्र विशेष महाधिवेशनका कारण गुमेको तागत अनि नयाँ सरकारले सम्पत्ति शुद्धीकरणलगायतका कसुरमा अगाडि बढाएको अनुसन्धान । यी सबै देउवाका तनावका कारण छँदै थिए । त्यसैले पछिल्लो साढे ५ महिनाको विदेश बसाइँका क्रममा उनले आफ्नो स्वास्थ्य उपचार र तनावको निवारणका लागि पर्याप्त समय दिएको हुनुपर्छ । जसको सङ्केत नेपाल आगमनसँगै उनले बोलेका र बोकेका विषयहरुले दिइरहेका छन् ।

२०६१ सालमा जब तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवालाई पुनः प्रधानमन्त्री बनाए । देउवाले भने- गोर्खाली राजाबाट न्याय पाएँ । पछि उनै राजाले असक्षम करार गरेर २०६१ माघ १९ मा प्रधानमन्त्रीबाट अपदस्त गरेपछि देउवाले भने, ‘मैलेजति राजा कसैले चिनेको छैन ।’

२०६२/६३ को जनआन्दोलनको सफलतापछि पनि देउवा भन्थे, ‘राजाबाट कुनै पनि बेला धोका हुनसक्छ ।’ केही वर्षअघि पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन पहल लिन केही कांग्रेस नेताहरुले देउवालाई आग्रह गरेका थिए । आफ्नै निवासमा भएको छलफलमा देउवा रिसाए र कड्किदै भने, ‘यस्तो बेला राजाको कुरा गर्ने । मलाई सक्न खोज्ने ?’

यतिबेला मुलकमा न राजा छन् र पूर्वराजाको राजनीतिक सक्रियता छ । राजावादीहरु पनि विग्रहका कारण कमजोर भएका बेला प्रवासबाट फर्किएपछि देउवाले राजाको विषयमा कुरा गर्न सुरु गरेका छन् । नेपाल ओर्लिएलगत्तै चुनदेवी पुगेर देउवाले आफूलाई सरकारसँग डर नभएको बताए । त्यसलाई पुष्टी गर्न राजाकै प्रसङ्ग झिके ।

‘राजा ज्ञानेन्द्रले त सकेन, यिनीहरुले सक्छन् ?’ दम्भसाथ देउवाले भने । आफूविरुद्ध भइरहेका छानबिन वा सरकारले गर्नसक्ने प्रतिशोधको प्रतिवाद देउवाले गर्नु अस्भाविक होइन । तर यसमा पूर्वराजाको प्रसङ्ग जोड्नु अर्थपूर्ण थियो । त्यो अभिव्यक्तिको केही घण्टाअघिमात्रै देउवाले ‘राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकता’ जरुरी रहेको वक्तव्य निकालेका थिए । देउवाले भनेको ‘सर्वपक्षीय’ भित्र राजसंस्था पनि पर्छ भन्ने मान्न सकिन्छ ।

देउवाको संरक्षणमा रहेको कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला आज समापन भयो । भेलाद्वारा पारित प्रस्तावमा एउटा महत्त्वपूर्ण विषय समेटिएको छ, जसले राष्ट्रिय राजनीतिमा बहस सिर्जना गर्न सक्छ । त्यो हो– सनातन धर्मलाई राष्ट्रिय पहिचानका रुपमा अघि बढाउने प्रतिवद्धता । भेलाको समापनमा बोल्दै देउवाले आफू हिन्दु हुँ भन्ने कुरा पटक–पटक जोड दिएर भने । जबकि यो कसैलाई थाहा नभएको गोप्य कुरा थिएन ।

यसअघि राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा लिखित मन्तव्य पढेपछि देउवाले राजाको प्रसङ्ग कोट्याएका थिए । उनले भनेका थिए, ‘मैले राजा ज्ञानेन्द्रलाई भनेकै हुँ, सरकारको हुकुम मान्छु तर प्रजातन्त्रको खिलाफ जान सक्दिन ।’ देउवाले गणतन्त्र स्थापनमा राजाको योगदान रहेको पनि बताए ।

‘गणतन्त्र जनताले ल्याएको हो । अझ गणतन्त्र ल्याउन राजाकै योगदान धेरै छ । संवैधानिक राजसंस्था राम्रो हो तर राजा संवैधानिक हुन चाहेनन् त म गरु के ?’, देउवाले भने ।

अघिल्लो दिन चुनदेवीमा पनि देउवाले ‘गणतन्त्र आफूले चाहेर नआएको, जनताले चाहेर आएको’ बताएका थिए । राजसंस्था पक्षधरहरु विभाजित र विचलित भइरहँदा देउवाले ‘जनताले ल्याएको गणतन्त्र जनताले चाहे जानसक्छ’ भन्ने भाष्यलाई आफ्नै शैलीमा प्रस्तुत गरेका छन् ।

२०८० को फागुनमा सम्पन्न कांग्रेसको महासमिति बैठकको अध्यक्षता सभापतिका रुपमा देउवाले नै गरेका थिए । त्यतिबेला कांग्रेसका ३९ केन्द्रीय सदस्य र १ हजारभन्दा बढी महासमिति सदस्यले हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर गरेका थिए । महासमिति बैठकमा अधिकांशको माग भए पनि सभापति देउवाकै निर्देशनमा कांग्रेसले हिन्दु राष्ट्रबारे कुनै औपचारिक बहस चलाएन । परिवर्तनका एजेण्डालाई संशोधन गर्न खोज्दा ‘धेरै कुरा बिग्रने’ चिन्ता देउवासहित कांग्रेस नेताहरुलाई थियो ।

सिंगापुर र हङकङ बसाइले देउवा बदलिएका छन् । राष्ट्रिय सम्मेलनमा औपचारिक एजेण्डा नै नरहेको हिन्दु राष्ट्र र राजसंस्थाको विषय देउवा आफैले रणनीतिक रुपमा प्रवेश गराए । उद्घाटनमा ‘गणतन्त्र जनताले ल्याएको’ बताएर राजसंस्थाको एजेण्डा छिराएका देउवाले समापनमा ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’ भन्दै धर्मरिपेक्षताको संवैधानिक व्यवस्था विपरीत उभिनसक्ने सङ्केत गरे । उनले सम्बोधनका क्रममा हिन्दु राष्ट्रको सम्भावनालाई खारेज गरेका छैनन् । यो निर्णय जनताको हातमा रहेको बताएका छन् ।

यी सबै डट्सहरुलाई जोड्दा ‘देउवा कांग्रेस’ ले आगामी दिनमा हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आफूलाई उभ्याउन वातावरण बनाइरहेको त छैन भनेर ‘अग्रगमनकारी शक्तिहरुलाई’ चिसो पसिसकेको छ । जेनजी आन्दोलन र खासगरी निर्वाचनपछाडि मूलधारका राजनीतिक दलहरुले ‘परिवर्तनका उपलब्धी’ उल्ट्याउन चलखेल भइरहेको आरोप लगाउने गरेका छन् । अधिकांश कांग्रेस नेताहरुले पनि नेपालमा नयाँ राजनीतिक कोर्सको प्रयत्न भइरहेको बताइरहेका छन् । यस्तो बेला देउवाले आफ्नो मन्तव्यमा राजा र हिन्दुत्वको सन्दर्भ ल्याउनु गम्भीर लाक्षणिक विषय हो ।

राजनीतिमा नेताको वक्तव्यलाई तत्कालीन भाषण मात्रै नभए सम्भावित राजनीतिको चित्रका रुपमा बुझ्नुपर्ने हुन्छ । देउवाले आफ्नो पुनरागमनपश्चात आफूलाई राजा, हिन्दुराष्ट्र र कतिपय ‘परिवर्तनका उपलब्धि’ विरुद्ध सफ्ट देखाउन चाहेका छन् । तर, देउवाले नेतृत्व गरिरहेको समूह अहिलेको आधिकारिका कांग्रेस होइन । त्यसले यो समूहले गर्ने भेलाको निर्णयलाई कांग्रेसको निर्णय मानिँदैन । तर यसको प्रभाव राष्ट्रिय राजनीतिमा भने पर्न सक्नेछ ।

देउवा आफैँमा नेपाली राजनीतिका एउटा ब्रान्ड हुन् । उनले राजसंस्था र हिन्दु राष्ट्रप्रति लगाव देखाएको खण्डमा त्यसले त्यसले एउटा ‘बज’ अवश्य सिर्जना गर्नेछ । राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्ने बलियो राजनीतिक शक्ति देशमा नहुँदा मैदान खाली पनि छ ।

कांग्रेसभित्रको हिन्दुवादी समूहमा उत्साह

देउवा पक्षको राष्ट्रिय सम्मेलनको निर्णयमा ‘सनातन धर्मलाई राष्ट्रिय पहिचानको रुपमा अगाडि बढाउने’ उल्लेख हुँदा कांग्रेसभित्रको हिन्दूवादी समूह उत्साहित भएको छ । कांग्रेस नेता लोकेश ढकाल देउवाका पछिल्ला अभिव्यक्तिहरुले कोर्स करेक्सनको संकेत गरेको बताउँछन् । राष्ट्रिय सम्मेलनले समेत सनातन धर्मको पक्षमा निर्णय गर्नु हिन्दू राष्ट्र निर्माणका लागि एक खुट्किलो भएको ढकालको भनाई छ ।

‘हिजो वैदिक सनातन हिन्दू राष्ट्रको कुरा सुन्नै नचाहने कांग्रेसको राष्ट्रिय सम्मेलनले आज सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने भनेको छ । यो सकरात्मक निर्णय हो’, ढकालले भने । उनले १२ बुँदे समझदारी पछिको राजनीतिक कोर्स सुधार्न कांग्रेस अझ स्पष्ट नीति लिनुपर्नेमा जोड दिए ।

‘अहिले कुरा चपाएर राजसंस्था र हिन्दुराष्ट्रको विषय उठाइएको छ । अब नेताहरुले स्पष्ट भन्न सक्नुपर्छ । नेपालको राजनीतिक कोर्स करेक्सन हुनुपर्छ भन्ने देउवाले रियलाइज गरेको हुनुपर्छ’, ढकालले भने । गणतन्त्र र धर्मनिरपेक्षताविरुद्ध कांग्रेसमा बन्दै गएको माहोललाई प्रतिगमन भन्न नहुने उनले बताए ।

‘म त १२ बुँदेको राजनीतिक कोर्सलाई प्रतिगमन मान्छु । कांग्रेसले प्रतिगमन सच्याउने प्रयास गर्नुपर्छ । देउवाले त्यसको नेतृत्व लिनुपर्छ’, ढकालले भने ।

देउवानिकट एक नेता अहिले नै आफूले सबै कुरा प्रष्ट नभएको बताउँछन् । यद्यपि देउवा समूहमा हिन्दु राष्ट्र पक्षधरले प्रभाव बढाएको उनको स्वीकारोक्ती छ । ‘शंकर भण्डारीहरुले त पहिलेदेखि नै भनिरहनुभएको छ । अहिले एनपी साउद र प्रकाशशरण महतले भने भन्न थालेपछि शेरबहादुर दाइ हिन्दुराष्ट्रतिर अलि पोजेटिभ हुन खोजेजस्तो देखिन्छ । तर भाषणमा व्यक्त भएको कुरा नै उहाँको राजनीतिक कार्यदिशा हो भनिहाल्ने स्थिति छैन’, ती नेताले नेपालप्रेससँग भने ।

उनले कांग्रेसभित्र ‘पुराना एजेण्डा’ बोकेर जाँदा जनमत फर्काउन सकिने तर्क बलियो बन्दै गएकाले केही विषयहरु सतहमा आएको बताए ।

‘हिन्दू राष्ट्रको एजेण्डाले मत फर्काउँछ भन्ने धेरै नेताको बुझाइ छ’, उनले भने । देउवा समूहले राष्ट्रिय सम्मेलनको संयोजक बनाएका पूर्व महामन्त्री डा.शशाङ्क कोइरालाले पनि लामो समयदेखि धर्म निरपेक्षता हटाउनुपर्ने बताउँदै आएका छन् । कांग्रेस नेतृत्वको आधिकारिता विवाद सर्वोच्च अदालतले पुनरावलोकन गरेर टुङ्ग्याउन बाँकी नै छ । यद्यपि पुनरावलोकनको निस्सा र देउवाको स्वदेश फिर्तीले देउवा समूह राजनीतिक रुपमा उत्साहित देखिन्छ । त्यो भन्दा बढी उत्साह विगतमा कांग्रेसले नै भन्दै आएका ‘प्रतिगमन पक्षधर’ मा देखिएको छ । किनकी पुनरागमनपछि देउवाको सफ्ट स्टेप ‘प्रतिगमन’ तिरै अग्रसर देखिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी