बिरामी परेका मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी लगियो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

बैतडी । स्वास्थ्यमा समस्या आएपछि पूर्वाधारमन्त्री सुनील लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगिएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक रायका अनुसार सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर लम्साललाई धनगढी लगिएको हो।

‘अहिलेलाई धनगढी लगिएको छ, त्यहाँबाट काठमाडौं लैजाने तयारी छ,’ रायले भने।

स्वास्थ्यमा समस्या आएपछि लम्साल हिँडडुल गर्न सक्ने अवस्थामा नरहेकाले हेलिकप्टरबाट उद्धार गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश सभापति प्रकाश बिष्टले जानकारी दिए।

लम्साल शनिबार अबेर साँझ आफैँ गाडी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुगेका थिए। त्यसअघि उनी शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा राजमार्ग तथा पूर्वाधारको अवस्थाको निरीक्षणमा थिए।

दार्चुलाबाट फर्किएपछि बैतडीका विभिन्न क्षेत्र हुँदै बझाङ जाने उनको कार्यक्रम तय भएको थियो। तर स्वास्थ्यमा समस्या आएपछि भ्रमणका बाँकी कार्यक्रम प्रभावित भएका छन्।

लम्साललाई धनगढीबाट थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्