कोशीकी सांसद निर्मलालाई पदमुक्त गर्ने तयारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१० असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बूलाई पदमुक्त गर्ने तयारी गरेको छ । अशोक राईको नयाँ पार्टीमा सनाखत गरेको भन्दै उनलाई सांसदबाट हटाउने तयारी थालिएको जसपा नेपालले जनाएको छ ।

लिम्बू जसपाकी समानुपातिक सांसद हुन् । उनी स्वास्थ्यमन्त्री समेत भएकी थिइन् । सर्वोच्च अदालतले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई आधिकारिकता दिएको फैसला सुनाएपछि पार्टीले लिम्बूविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो ।

जसपा नेपालका केन्द्रीय सदस्य जयराम यादवले लिम्बूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

‘पार्टीले उहाँलाई विश्वास गरेर पठाएको थियो । पार्टी सङ्कटमा परेको बेला अर्को समूह रोजेकाले अब पदमा बसिरहनु नैतिक रूपमा उपयुक्त हुँदैन’, यादवले भने ।

निर्मलाले भने आफू कुनै नयाँ पार्टीमा नगएको भन्दै बिना गल्ती कारबाही गरे कानुनी उपचार खोज्ने बताइन् ।

उनले भनिन्, ‘दल विभाजन हुँदा म कांग्रेस-एमालेमा गएको होइन । नेताहरूको लडाइँमा बिना गल्ती अन्याय गरिए म कानुनी उपचारका लागि जान्छु ।’ पार्टी एकता हुँदा आफू अशोक राई नेतृत्वको संघीय समाजवादीबाट आएको भन्दै उनले विभाजन हुँदा पनि अशोक राई नेतृत्वको दल नै रोजेको बताइन् ।

उनले थपिन् ‘निर्वाचन कार्यालयले तारनतार सनाखत गर्न आउनु कि आउनु भनेर पत्र पठायो । बिना गल्ती अरूका कारण ममाथि अन्याय भयो भने कानुनी लडाइँ लड्नुको विकल्प भएन ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्