११ असार, काठमाडौं । नेपाली लोककला, साहित्य तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासमा सक्रिय राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले यस वर्ष पनि राष्ट्रिय धान दिवस तथा दही–चिउरा पर्वको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
संस्थाले गोकर्णेश्वर नगरपालिका र सांस्कृतिक संस्थानको सहकार्यमा आगामी असार १५ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, शिवचोकमा परम्परागत धान रोपाइँ तथा सामूहिक दही–चिउरा खाने कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमका अनुसार नेपाली मौलिक संस्कृति, कृषि परम्परा तथा सामाजिक सद्भावलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
वि.सं. २०६५ सालदेखि लोकसंस्कृति, साहित्य, कला र परम्पराको जगेर्नामा सक्रिय संस्थाले हरेक वर्ष असार १५ लाई विशेष रूपमा मनाउँदै आएको छ। यस वर्षको कार्यक्रममा परम्परागत धान रोपाइँसँगै विभिन्न सांस्कृतिक प्रस्तुति, लोकगीत तथा सामूहिक दही–चिउरा खाने कार्यक्रमसमेत समावेश गरिएको छ।
संस्थाका सचिव कमल सरगमले कार्यक्रमले नयाँ पुस्तालाई नेपाली कृषि संस्कृति र मौलिक परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “धान रोपाइँ केवल कृषि कर्म मात्र होइन, नेपाली समाजको संस्कृति, परम्परा र सामूहिकताको प्रतीक पनि हो,” उनले भने।
राम थापा ‘अविरल’लाई गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार
यस अवसरमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले हरेक वर्ष प्रदान गर्दै आएको ‘गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार’ पनि प्रदान गर्ने भएको छ। यस वर्षको पुरस्कार रेडियो नेपालमा कार्यरत वरिष्ठ सञ्चारकर्मी तथा गीतकार राम थापा ‘अविरल’लाई प्रदान गरिने संस्थाका प्रवक्ता शिखर गजरकोटेले जानकारी दिए।
नगद ५ हजार ५ सय ५५ रुपैयाँ राशिको उक्त पुरस्कार सञ्चार, साहित्य तथा सङ्गीत क्षेत्रमा उहाँले पुर्याएको योगदानको कदरस्वरूप प्रदान गर्न लागिएको हो।
सञ्चार र सङ्गीत क्षेत्रमा अविरल योगदान
गुल्मी जिल्लामा जन्मिएका राम थापा ‘अविरल’ नेपाली सञ्चार, साहित्य तथा सुगम सङ्गीत क्षेत्रमा परिचित र सम्मानित व्यक्तित्वका रूपमा चिनिन्छन्। वि.सं. २०५५ सालदेखि रेडियो नेपालमा आबद्ध उहाँले दुई दशकभन्दा बढी समयदेखि विभिन्न लोकप्रिय कार्यक्रम सञ्चालन गर्दै श्रोतामाझ विशेष पहिचान बनाएका छन्।
‘गजल गङ्गा’, ‘समर्पण’, ‘सङ्गीत सागर’, ‘गोधूलि’, ‘इन्द्रेणी’ र ‘चलचित्र स्रष्टा’ लगायतका कार्यक्रममार्फत उहाँले नेपाली भाषा, साहित्य र सङ्गीतको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउनुभएको छ।
उहाँ सफल गीतकारका रूपमा पनि परिचित हुनुहुन्छ। तीन दर्जनभन्दा बढी गीत सिर्जना गरिसक्नुभएका अविरलका “सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ रे”, “धर्ती आकाश जस्तै भयौ”, “जिन्दगी नै बन्दकी छ” लगायतका गीत श्रोतामाझ लोकप्रिय छन्।
स्रष्टा अधिकारका पक्षधर
राम थापा ‘अविरल’ सञ्चार र सिर्जनशील क्षेत्रका स्रष्टाहरूको हकहित संरक्षणमा पनि सक्रिय रहँदै आउनुभएको छ। उहाँ सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालका संस्थापक सदस्यमध्ये एक हुनुहुन्छ। स्रष्टाको प्रतिलिपि अधिकार संरक्षण र सङ्गीत क्षेत्रको संस्थागत विकासमा उहाँको भूमिका उल्लेखनीय मानिन्छ।
उहाँले सञ्चार तथा साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरिसक्नुभएको छ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले असार १५ को कार्यक्रमले नेपाली कृषि संस्कृति, लोक परम्परा तथा सामुदायिक एकताको सन्देश फैलाउने विश्वास व्यक्त गरेको छ। संस्थाका अनुसार कार्यक्रममा सञ्चारकर्मी, कलाकार, साहित्यकार, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।





