१८ असार, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा अनुगमनका क्रममा अनुसन्धान भइरहेको फाइल हेर्न मागेका छन् ।
अनुगमनका क्रममा राज्य व्यवस्था समितिका सभापति यज्ञमणि न्यौपानेसहितको टोली हिजो अख्तियारको इटहरी कार्यालय पुगेको थियो । अनुगमनका क्रममा समितिका सभापतिले अख्तियारमा परेका उजुरीहरूको फाइल हेर्न पाउनुपर्ने अडान राखेपछि केहीबेर वादविवाद भयो ।
‘कर्मचारीले फाइल हेर्न हुने, जनताका प्रतिनिधिले किन हेर्न नपाउने ?’ न्यौपानेले भने ।
अनुगमन टोलीमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरू रास्वपाकी सांसद गजला शमीम मिकरानी, एमाले सांसद विष्णुमाया विक तथा नेकपाका युवराज दुलाल थिए ।
संसदीय समितिको टोलीले फाइल देखाउन दबाब दिएपछि अख्तियारका कर्मचारीसँग लामो विवाद भयो । अख्तियारका कर्मचारीले गोपनीयताका कारण अनुसन्धान भइरहेको फाइल दिन नमिल्ने अडान राखे । कर्मचारीहरूले फाइल देखाउँदा गोपनीयता भङ्ग हुने भन्दै रोकेको भिडियोसमेत सार्वजनिक भएको छ ।
सभापति न्यौपानेले २०७३ सालदेखिका उजुरी फर्छ्यौट किन नभएको भन्दै कारण खोजेका थिए । हिजोकै अवस्थामा देश नचल्ने भन्दै न्यौपानेले सबै सुध्रिनुपर्ने बताए ।
सार्वजनिक भिडिओमा न्यौपानेले भनेका छन्, ‘तपाईँहरूले लोकसेवामा नाम निकाल्नुभयो, त्यसपछि लोकसेवाले नियुक्ति दियो । सामान्य प्रशासन हुँदै विभिन्न निकायबाट यहाँ आउनुभयो, त्यति भएपछि तपाईँसँग चाहिँ गोपनीयता रह्यो । अनि हामीलाई चाहिँ जनताले भोट दिएर राज्यले समितिमा पुर्यायो । नाम सार्वजनिक नगरी हामीले अनुसन्धान अधिकृतलाई प्रमाण नपुगे तामेलीमा राख्नुपर्थ्यो, प्रमाण पुगेको भए अभियोजन गर्नुपर्थ्यो, किन नगरेको भन्न पाइने कि नपाइने ?’
अख्तियारका कर्मचारीहरूले भने अनुसन्धान जारी रहेको फाइल देखाउन नमिल्ने र अनुसन्धान प्रक्रियालाई कानुनले नै गोप्य राख्नुपर्ने व्यवस्था गरेको जानकारी गराएका थिए ।





