सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादरमा दुई प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ।

विभागले तयार पारेको सूचना अनुसार इन्धनको बजार मूल्यमा आएको गिरावटलाई आधार मान्दै भाडा समायोजन गरिएको हो ।

यसअघि डिजेलको औसत मूल्य प्रतिलिटर दुई सय ३५ रुपैयाँ ८३ पैसा रहेकोमा हाल घटेर एक सय ९३ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

यसअघि विभागले इन्धनको मूल्य वृद्धि हुँदा यात्रुवाहक तथा मालवाहक सवारीमा पाँच प्रतिशतसम्म भाडा बढाएको थियो भने त्यसबेला पूर्ण रूपमा भाडा समायोजन नभएका कारण अहिलेको मूल्य घट्दा त्यसलाई समेत समेट्ने गरी दुई प्रतिशतले भाडा घटाउने निर्णय लिइएको हो ।

यस नयाँ निर्णय अनुसार अब यात्रुवाहक सवारी साधन, पहाडी बाटोमा चल्ने मालवाहक सवारी र तराईको बाटोमा चल्ने मालवाहक सवारी साधन सबैमा दुई प्रतिशत भाडा घट्नेछ। उक्त घटेको भाडादर यही असार १८ गतेदेखि नै लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेश जोड्ने राष्ट्रिय स्तरका रूटहरूमा सञ्चालन हुने सार्वजनिक यातायातमा कार्यान्वयनमा आउने विभागले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी